धनगढीको जुगेडामा खेल मैदान मर्मतमा झण्डै ८ लाख अनियमितता
गत आर्थिक वर्ष २०७५-०७६ मा सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरीको प्रदेश पूर्वाधार विकास कार्यक्रमको १० लाख जुगेडा ‘सी’ गाउँ खेल मैदान मर्मतका लागि विनियोज गरिएको थियो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा निर्देशनालयले खेल मैदान मर्मतको अख्तियारी पाएको थियो।
निर्देशननलयले शिक्षा समन्वय इकाई मार्फत कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समितिसंग निर्माण सम्झौता गरेको थियो। गत वर्षको बैशाखमा तीन दिन खेल मैदान मर्मतको काम भएको थियो। दुई दिन ट्रकमा माटो ढुवानी र स्काईभेटरले माटो सम्याउने काम भएको थियो भने एक दिन रोलर लगाइएको थियो।
खेल मैदानको स्वामित्व लिईरहेको जुगेडा यूनाईटेडका अध्यक्ष शैलेन्द्र रोकायाका अनुसार २५ ट्रक माटो ढुवानी गरिएको थियो। एक दिन केही घण्टा मात्र रोलर लगाइएको थियो। बढिमा दुई लाखको काम भएपनि १० लाख पूर्ण भुक्तानी दिइएपछि आर्थिक अनियमितता भएको आशंका उनको छ।
‘उनीहरुको स्टमेट र हाम्रो स्टमेटले मेल खाएन्। त्यो बेला पनि विवाद भएको थियो।’ रोकायाले भने ‘तर उनीहरुले स्टमेट अनुसार काम गरेको भन्दै भुक्तानी लिएका छन्।’ प्रदेश सभा सदस्य नेपालु चौधरीले पनि स्थलगत अनुगमन गरेका थिए। रकम भुक्तानीको बारेमा स्थानीयलाई जानकारी पनि थिएन्। केही डिल भएको ठाउँमा खेल मैदान सम्याइएको थियो।
गत बैशाखमा ममर्त गरिएको मैदान अहिले खाल्डा–खुल्डी परेका छन्। तत्कालीन न्यू खप्तड युवा क्लबले सात लाखमा तयार पारेको खेल मैदानमा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख रकम विनियोजन गरेको हो। तत्कालीन युवा क्लबलाई स्थानीयले खेल मैदान निर्माणमा सहयोग गरेका थिए।
स्थानीय युवाहरुले खेल मैदान निर्माणमा श्रमदान पनि गरेका थिए। तर गत आर्थिक वर्षमा उपभोक्ता समितिले श्रमदान पनि नगरेको बुझिएको छ। स्थानीय युवा श्याम कुँवरले १० लाखको काम नभएको दावि गरे। उनले स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरलाई पनि खबर गर्दा बेवास्ता गरिएको बताए।
‘खेल मैदान मर्मतका लागि गठन भएको उपभोक्ता समितिले झारो टार्ने काम गरेपछि हामीले अख्तियारमा पनि खबर गरेका थियौँ। तर सुनवाई भएन।’ उनले भने, ‘वडा कार्यालयबाट पनि सिफारीस दिइएको थिएन, तर पछि भएको रहेछ।’ १० लाखको कार्यक्रममा दुई लाखको काम गरेर झण्डै ८ लाख हिनामिना भएको आरोप स्थानीयले लगाएका छन्।
उनीहरुले माटो पनि स्थानीयको खेतबाट निःशुल्क ढुवानी गरिएको बताएका छन्। तीन दिन २० ट्रक माटो तथा समान्य स्काईभेट र रोलर लगाएर १० लाख खर्च भएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरलाई पनि मौखिक उजुरी गरेका थिए।
तर बेवास्ता गरिएको गुनासो उनीहरुको छ। उनीहरुले खेल मैदानमा माटो भरानका लागि स्थानीय नरु सिंहको खेतबाट निःशुल्क माटो ल्याएको पाइएको छ। तर खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव गोविन्द ओझाले पूर्ण काम गरेका कारण भुक्तानी पनि पूर्ण भएको बताए।
‘खेल मैदानको काम राम्रो भएकाले पूर्ण भुत्तानी भएको को हो।’ उनले भने। बैशाखमा माटो भरिएको खेल मैदानमा अहिले खाल्डा–खुल्डी छ। फुटबलका लागि निर्माण गरिएको खेल मैदानमा गोल पोस्ट र निश्चित क्षेत्र छैन्। तर प्रदेश सभा सदस्य नेपालु चौधरी बजेट हिनामीना भएको कुरा अस्वीका गर्छन्।
उनले काम भएको तर भुक्तानीको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिए। शिक्षा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले खेल मैदानमा रकम खर्च भएको बारेमा जानकारी भएपनि स्टमेट र भुक्तानीको बारेमा जानकारी नभएको बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालय परिसरमा रहेको मैदानको पर्खाल निर्माणका लागि चालु अर्थिक वर्ष २०७६÷०७७ मा धनगढी उप–महानगरपालिकाले पाँच लाख रकम विनियोजन गरेको छ।