सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बसको ठक्करबाट युवकको मृत्युः अवरुद्ध केआइसिंह राजमार्ग संचालन

२०७६ पुष १०, ०५:०७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तहरूले अवरुद्ध पारेको केआइसिँह राजमार्ग संचालनमा आएको छ। 

महाकाली यातायात समितिसँग उचित क्षतिपूर्तिको माग राख्दै आफन्तले डा.केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ सल्लाघारीमा  टायल बालेर सडक अवरुद्ध पारेका थिए। 

मृतकका आफन्तसँग कानूनबमोजिम क्षतिपूर्ति दिने र चालकलाई कार्वाही गरिने सहमतीपछि अवरुद्ध राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्गको रुपमा रहेको केआइसिंह राजमार्ग बिहानैदेखि अवरुद्ध पारिँदा यात्रुहरुले सास्ती भागेका थिए। 

मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। ठगुन्नालाई धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस