डडेल्धुरामा बसको ठक्करबाट युवकको मृत्युः अवरुद्ध राजमार्ग सञ्चालन
डडेल्धुरा: डडेल्धुरामा मगंलबार बसले मोटरसाईकललाई ठक्कर दिँदा युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले अवरुद्ध पारेको राजमार्ग सुचारु भएका छन। मृतकका आफन्तले क्षतिपूर्तिको माग राख्दै भीमदत्त राजमार्गको अमरगढी नगरपालिका–१, स्याउले बजार र डा.केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–१० को राईमा सडक अवरुद्ध पारेका थिए।
उनीहरुसँग क्षतिपूर्तिका लागि यातायात समितिसँग भोलि (बिहीबार) छलफल गर्ने सहमतिपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। दुई वटा राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प रहेको रहेको थियो भने यात्रुहरुले सास्ती भागेका थिए।
मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना७ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो।
दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए। ठगुन्नालाई धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।