सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दो

२०७६ पुष ९, ०७:४२ नरेन्द्र कार्की

दार्चुलामा महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मंगलबार दार्चुलामा गरेको मानव अधिकार वर्ष पुस्तक सन् २०२० को पूर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि भएको देखाइएको छ।

महिला तथा बालिकामाथि जबरजस्तीकरणीका साथै आत्महत्या गर्न बाध्य बनाएका घटना बढेको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनले उल्लेख छ। सन् २०१९ को जनवरीदेखि डिसेम्बर सम्म जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गर्दै इन्सकेले दार्चुलाले महिला तथा बालबालिका असुरक्षित रहेको जनाएको छ।

इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्रसिंह कार्कीले एक वर्षको अवधीमा ११ वटा जबरजस्तीकरणी, उद्योगका मुद्धा दर्ता भएको जनाए। यस्तै घरेलु हिंसा र महिला हिंसाका ७७, बहुविवाहको एक मुद्धा दर्ता भएको छ। जिल्लामा बालविवाहको समस्या पनि जटिल बन्दै गएको इन्सेकका प्रतिनिधि कार्कीले जानकारी दिए।

 

 

उनले भने,‘जिल्लामा बालविवाह जटिल समस्याको रुपमा देखिएको छ। पछिल्लो समय भागेर विवाह गर्ने प्रवृत्ती पनि बढ्दै गएको छ। यसले गर्दा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ।’ मालिकार्जुन गाउँपालिकामा गरिएको सर्वेक्षणले पालिकाका दुई सय २० महिला र एक सय ३० पुरुष मध्ये एक सय २६ जना केटी र २३ जना केटाले २० वर्ष उमेर नपुगी विवाह गरेको पाईएको छ।

८ वटै वडामा गाउँपालिकाले गरेको सर्वेक्षणमा १४ देखि १५ वर्षको उमेर समूहमा विवाह गर्ने ७ दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत र १८ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत बालबालिका छन्।

बाल विवाहमा परेका मध्ये ५८ दशमलव ७८ प्रतिशत आमा बुवाले नै मागी विवाह गरेका छन्। यस्तै १५ दशमलव ९ प्रतिशतले भागी विवाह र २५ दशमलव ४ प्रतिशतले प्रेम विवाह गरेको तथ्यांक छ। जसको कारण जिल्लाभरी बाल विवाह बढ्दै गएको इन्सेक प्रतिनिधि कार्की बताउँछन्।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेपनि हिंसामा अझै कमी आउन सकेको छैन्। ‘महिला तथा बालबालिका अहिले पनि हिंसामा पर्ने क्रम रोकिएको छैन्’, जिल्ला न्यायधिश गिरीराज गौतमले भने, ‘बालअधिकार झनै सुरक्षित हुन सकेको छैन्।’
 

 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस