कैलालीमा वित्त व्यवस्थापनकाबारे छलफल
कैलाली: कैलालीमा वित्तीय अनुदान तथा प्राकृतिक स्रोतको बाँडफाँडको विषयमा भएको छलफलमा पछाडी परेका प्रदेशलाई वित्तीय रूपमा सामथ्र्यवान बनाउनेबारे सुझाव प्रस्तुत गरिएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आयोजित उक्त छलफलमा राजश्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानलगायतका विषयमा छलफल भई प्रदेश सरकारबाट सुझाव प्रस्तुत गरिएको कार्यक्रममा सहभागी सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए।
छलफल कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव र आयोगका पदाधिकारी सहभागी थिए। यसअघि आजै आयोगका अध्यक्ष बालानन्द पौडेलले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मीलाकुमारी पन्त समक्ष आयोगको प्रदेशस्तरीय वार्षिक प्रतिवेदन पेश गरेका थिए। -रासस