सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १५ वर्षदेखि फरार कैदी पक्राउ

२०७६ पुष ६, ०१:५४ खबर संवाददाता

कैलाली कारागारबाट भागेर १५ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले २०६१ सालमा तत्कालीन माओवादीले कारागारमा आक्रमण गर्दा भागेका कर्तव्य ज्यान मुद्दाका कैदी भजनी नगरपालिका ५ का दिलबहादुर साउँदलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले साउँदलाई  जिल्ला र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले आज पक्राउ गरेको दिनेश खबरलाई जानकारी दिए। उनले साउँदलाई आजै जिल्ला अदालतमा उपस्थित गराईएको बताए।

साउँदले २०५५ साल फागुन ५ मा साविकको लालबोझी गाबिस ७ का  रतन साउँदको हत्या गरेका थिए।  जिल्ला अदालत कैलालीले  २०५६ पुष २६ मा फैसला सुनाउदै  २१ वर्ष छ महिना कैद सजाय तोकेको थियो। उनलाई २०६० साल फागुन  १९ गते  पक्राउ गरी प्रहरीले कारागार चलान गरेको थियो। 

तर  २०६१ माघ २१ गते तत्कालीन माओवादीले कैलाली कारागार आक्रमण गर्दा भागी फरार भएर साउँद भारतबाट आधार कार्ड समेत बनाएर बस्दै आएको प्रहरीले  जनाएको छ। साउँदलाई भजनी नगरपालिका ५ बाट पक्राउ गरिएको हो। 

कमेन्ट लोड गर्नुस