सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका स्थानीय आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित

२०७६ पुष ५, ०४:२८ रोशन भट्ट

सुदूरपश्चिमको राजधानी गोदावरी नगरपालिकाका स्थानीय, आधारभुत स्वास्थ्य सेवाका लागि पनि परनिर्भर भएका छन्। स्वास्थ्यको अधिकार स्थानीय तहमा गएको दुई वर्ष भईसक्दा समेत प्रदेशको राजधानीकै वासिन्दाले आधारभुत स्तरको स्वास्थ्य सेवाका लागि समेत परनिर्भर हुनुपर्ने बाध्यता रहेको हो। स्थानीय तहलाई १५ शैया सम्मको अस्पताल संञ्चालन गर्ने अधिकारसंगै आधाभूत स्वास्थ्य सेवाको जिम्मेवारी दिईएको छ तर १२ वडा रहेको नगरपालिकामा जम्मा १० स्वास्थ्य संस्था रहेका छन्।

साविककै १५ शैयाको मालाखेती अस्पताल रहेको छ भने नगर भित्रै चार वटा स्वास्थ्य चौकी वेलादेवीपुर, वडेहा, गेटा र गोदावरीकै ओलानीमा रहेका छन्। पाँच वटा सहरी स्वास्थ्य क्लीनिक जमुनाभाडी, हाटखोली, फुलवस्ती, चाप्सली र खमौरामा छन्। तर वेलादेवीपुर स्वास्थ्य चौकीमा हाल सम्म वर्थिङ सेन्टर स्थापना हुन नसकेको नगरपालिकाका स्वास्थ्य संयोजक विरबहादुर कुँवरले बताए। ‘स्वास्थ्य संस्थाले निःशुल्क प्रदान गर्ने औषधीको पनि कमी छ।’ कुँवरले भने, ‘कर्मचारीको पनि उचित व्यवस्थापन हुन सकेको छैन्, कतै कम त कतै बढी कर्मचारी छन्।’

प्रदेशकै राजधानी तोकिएको गोदावरीमा १५ शैयाको सरकारी अस्पताल संञ्चालनमा रहेको छ। विगतमा गाउँ विकास समितले नै संञ्चालन गरेको मालाखेती अस्पताल अहिले नगरपालिका मातहत आएको छ। तरपनि आपेक्षाकृत रुपमा सेवा सुधार हुन सकेको छैन्। १५ शैयाको अस्पताल भएर पनि विगतमा आकस्मीक सेवा दिन नसकेको मालाखेती अस्पतालमा २४ घण्टा आकस्मीक सेवा संञ्चालन गरेको दावी नगरपालिका मेयर हरिसिंह साउँदको छ। तर प्रसुतीको शल्यक्रिया सेवाकै लागि डाक्टर र अत्याधुनिक उपकरणको आवश्यकता छ।

तर नगरपालिकाले त्यसका लागि पहल नगरेको देखिएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्धार समेत रहेको गोदावरीमा दुर्घटनाका घाईते प्राथमिक स्वास्थ्य सेवा लिन अत्तरिया पुग्ने गर्छन्। तर मालाखेती अस्पतालमा हार्डजोर्नी सेवा नहुँदा समस्या हुने गरेको छ। यता अधिकार सम्पन्न नगरपालिकाले भने सेवा सुधार गर्दै विस्तार गर्नतर्फ ध्यान दिएको छैन्। चालु आर्थिक वर्षमा औषधी खरिद गर्नको लागि २० लाख बजेट विनियोजन गरिएको छ। जसमा पाँच लाखको औषधी खरिद गरिसकेको नगरपालिकाले जनाएको छ।

नगरपालिकालाई अस्पतालमा ७५ र स्वास्थ्य चौकीमा ४५ प्रकार औषधी निःशुल्क वितरण गर्नुपर्ने प्रावधान रहेको छ। तर सबै स्वास्थ्य संस्थामा प्रर्याप्त औषधी पुग्न सकेको छैन्। सबै नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य सेवा सुधार गर्नको लागि गोदावरी नगरपालिकाले भने प्रदेश र संघिय सरकारकै मुख ताकेर बसेको देखिएको छ। भएकै सेवा नगरपालिकाको स्रोत परिचालन गरी सुधार्न सकिने भएपनि यसतर्फ वेवास्था गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस