सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको व्यासमा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट बन्ने

। फोटो स्रोत ।
२०७६ पुष ४, ०७:५३ खबर संवाददाता

दार्चुलाको व्यास गाउँपालिकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बन्ने भएको छ। व्यास गाउंपालिका वडा नम्बर १ छाङरुको गागा क्षेत्रमा (बीओपी) स्थापनाका लागि नौ महिनापछि टुंगो लागेको हो। मंसिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बीओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्तावित गरेको जमिन दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको छ। गत चैत महिनाको पहिलो हप्ता जिल्लास्तरबाट जमिन व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो। जिल्लास्थित सरोकारवाला निकाय र व्यासका स्थानीय बासिन्दासँगको छलफलपछि छाङरुको गागाक्षेत्रमा १५ रोपनी सरकारी जमिन सुरक्षा पोस्ट स्थापनाका लागि उपयुक्त हुने निस्कर्ष निकालिएको थियो।

नौ महिनासम्म वन मन्त्रालयको सहमति चाहिने भन्दै जमिन व्यवस्थापनको फाइल गृह मन्त्रालयमै अडकाइएको थियो। प्रस्तावित ‘जमिन क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने’ बहाना देखाउदै पोस्ट स्थापनाको फाइल त्यतिकै थन्क्याइएको थियो। मन्त्रिपरिषद्ले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरीको पोस्ट राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए। मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले ‘दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ लगायत सीमावर्ती क्षेत्रमा सुरक्षा पोस्ट राखिने’ निर्णय भएको बताए। यसबाट ‘सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने’ उनको भनाइ छ।

व्यास क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि गत साउनमै दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई १ करोड बजेट निकासा प्राप्त भएको गुल्मपति डम्बरवहादुर विष्टले बताए। ‘हालै नेपाल सरकारबाट जमिन व्यवस्थापनबारे निर्णय भएको छ, अब पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्छ’, गुल्मपति विष्टले भने।

यसरी भयो निर्णय  

जमिनको टुंगो लगाउन र सुरक्षा पोस्ट स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसिर २० गते गृह मन्त्रालयलाई निर्णयार्थ पत्राचार गरेका थिए। गृह सचिव प्रेमकुमार राइले मंसिर २२ गते जमिन र बजेट व्यवस्थापनको विषयमा प्रस्ताव गरेका थिए। मन्त्री रामबहादुर थापाले मंसिर २२ गते नै मन्त्रिपरिषदमा यससम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय गरेका थिए।

सुरक्षा पोस्टका लागि जग्गा दर्ताको स्वीकृतिका साथै बजेट व्यवस्थापनसम्बन्धी पनि मन्त्रिपरिषद्ले निर्णय गरेको सशस्त्र प्रहरीका ५० नम्बर गुल्मपति डम्बरबहादुर विष्टले बताए। मंसिर २३ गते नै मुख्य सचिव लोकदर्शन रेग्मीले गृह सचिवलाई पत्राचार गरी निर्णयबारे जानकारी गराएका थिए। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न, गराउन मुख्यसचिवले गृह सचिवलाई पत्रमा उल्लेख गरेका छन्। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई पनि मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

गृह मन्त्रालयले मंसिर ३० गते सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई पत्राचार गरी निर्णय कार्यान्वयन गर्न भनेको छ। मुख्यसचिव र गृह मन्त्रालयबाट जानकारी प्राप्त भएलगत्तै सशस्त्र प्रहरीले मातहतका युनिटहरुलाई यसबारे सर्कुलर गरेको गुल्मपति डम्बरबहादुर विष्टले बताए। व्यास क्षेत्रमा सुरक्षा पोस्ट स्थापनाका लागि एक वर्षअघि दार्चुलाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले गृहमन्त्रीलाई लिखित अनुरोध गरेका थिए। लामो समयसम्म सुरक्षा पोस्ट स्थापनाको विषयले गति नलिएपछि केही हप्ताअघि प्रतिनिधिसभा सदस्य ठगुन्नाले प्रधानमन्त्रीलाई नै सम्बोधन गरी लिखित पत्राचार गरेका थिए।

११ करोड बजेट

सरकारले व्यासमा सुरक्षा पोष्ट निर्माणका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। मंसिर २३ गतेको मन्त्रिपरिषद् बैठकले जमिन दर्ताको स्वीकृतिसँगै सुरक्षा पोष्टको भौतिक पूर्वाधार निर्माण गर्न ‘११ करोडसम्मको बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत उपलब्ध गराउन व्यवस्था मिलाउने’ निर्णय गरेको छ। सुरक्षा पोस्ट निर्माणका लागि १५ रोपनी सरकारी जमिन सशस्त्र प्रहरीको नाममा दर्ता गर्ने निर्णयसँगै बजेटको निर्णय पनि गरिएको छ। सशस्त्र प्रहरीको हेडक्वार्टरले १४ करोड ६ लाख १४ हजार १ सय ७० रुपैयाँ सुरक्षा पोस्ट स्थापनाका लागि बजेट मागेको थियो। गृह सचिव प्रेमकुमार राइले भने ११ करोड बजेट व्यवस्थापनका लागि प्रस्ताव गरेका थिए।

‘मन्त्रिपरिषद्ले ११ करोडसम्मको बजेट व्यवस्था गर्ने’ निर्णय गरेको छ। आवश्यकताअनुसार बजेट थपघट हुने सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले बताए। ‘हामीलाई १ करोड बजेट त प्राप्त भइसकेको छ, निर्माण कार्य अगाडि बढेपछि आवश्यकताअनुसार बजेट प्राप्त भइहाल्छ’, गुल्मपति विष्टले भने। ठेक्का प्रक्रियामार्फत सुरक्षा पोष्टको भौतिक संरचना निर्माण गरिने उनले बताए। ‘यसका लागि प्राविधिक तयारी थाल्छौँ र माथिल्लो निकायबाट स्वीकृति लिन्छौ’, डीएसपी विष्टले भने। सशस्त्रको सुरक्षा पोस्टअन्तर्गत एक सयजनाको जनशक्तिका लागि आवाशीय भवन बनाउने प्रस्ताव छ। ब्यारेक भवन, खाद्यान्न भण्डार, घेरपर्खाल, सुरक्षा निगरानी पोष्ट, प्रवेशद्वार र प्रतिक्षालयको संरचना बनाइने छ। यसैगरी, जमिन संरक्षण, जेनरेटर खरिद, सौर्य प्रणाली जडानको कार्य पनि गरिने छ। 
 

कमेन्ट लोड गर्नुस