सुदूर नेपाललाई विश्वसँग जोड्दै

पदस्थापन रोकिएका बेला सेती अस्पतालका स्वास्थ्यकर्मीलाई समायोजन भएको स्थानमा जान दबाब

२०७६ पुष २, ०७:२५ जनक विष्ट

संघिय सरकारले समायोजन भएका कर्मचारीको सम्बन्धीत निकायमा तत्काल पदस्थापनको काम रोकेका बेला सेती प्रादेशिक अस्पतालमा भने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्बन्धीत स्थानमा रमना भई जान दबाब दिईएको छ। अस्पताल विकास समितिको स्वार्थमा समायोजन संशोधनको चरणमा रहेका केही नर्सिङ कर्मचारी र स्वास्थ्यकर्मीलाई  अस्पतालले सूचना जारी गर्दै सात दिन भित्र रमना भई सम्बन्धीत स्थानमा जान भनेको हो।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै मंसिर ८ गतेदेखि अर्को व्यवस्था नभए सम्मका लागि भन्दै समायोजन संशोधन, सरुवा, पदस्थापन तथा काज सम्बन्धीका काम स्थगीत गरिएको जनाएको छ। सूचनामा अर्को व्यवस्था नभए सम्मका लागि सम्बन्धीत कार्यालयमै कार्यरत रहन भनिएको छ।

तर संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले दोस्रो सूचना जारी नगरेका बेला सेती प्रादेशिक अस्पतालले मंसिर ३० मा सूचना जारी गरी समायोजन भएका कर्मचारीलाई एक हप्ता भित्र सम्बन्धीत स्थानमा रमना भई जान भनेको छ। संघिय सरकारबाट अर्को परिपत्र नभएकै बेला विकास समितिको स्वार्थमा सेती प्रादेशिक अस्पतालले उक्त सूचना जारी गर्दै कर्मचारीलाई पदस्थापन भएर जान दबाब दिईरहेको आरोप लागेको छ।

तर सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डले समायोजन संशोधनका लागि निवेदन पेश गरेका कर्मचारीलाई रेकर्डका लागि फाईल पेश गर्न र नगरेका कर्मचारीले प्रक्रिया पुगाएर समायोजन हुनका लागि उक्त सूचना जारी गरिएको बताए।

सूचना जारी गर्दैमा सबैलाई तत्काल नै पठाईहाल्नुपर्छ भन्ने नभएको पाण्डेले दिनेश खबरलाई बताए। संघिय स्वास्थ्य मन्त्रालयले समेत कात्र्तिकमा सूचना जारी गरी समायोजन भएका कर्मचारी, गुनासो गर्न र पत्र लिन कार्यस्थल छोडी मन्त्रालयमा रहने अवस्थाले नकारात्मक असर परेको भन्दै एकमुष्ट समायोजन संशोधन सूची प्रकाशन गर्न भनेको थियो।

सोही आधारमा सेती अस्पतालमा कार्यरत अधिकांश नर्सिङ कर्मचारी र स्वास्थ्यकर्मीले पनि समायोजन संशोधनका लागि मन्त्रालयमा निवेदन पेश गरेका छन्। संघिय सरकारले भने अहिले सम्म सूची प्रकाशन गरेको छैन्। तर सेती प्रादेशिक अस्पतालले सूचना नै जारी गरी समायोजन भएका कर्मचारीलाई सम्बन्धीत स्थानमा रमना भई जान भनेको हो।

ती कर्मचारी समायोजन भई गएमा तत्काल अर्को विकल्प नभएकाले अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुने स्वयंम अस्पताल प्रशासन बताउँछ। मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले त्यसरी समायोजन भई जानेमा नर्सिङ स्टाफ लगायतका स्वास्थ्यकर्मी बढि रहेकोले सेवा केही प्रभावित हुने बताए।

पहिलेदेखि नै नर्सिङ स्टाफको कमी भएका कारण समस्या हुने उनी बताउँछन् तर निकट भविष्यमा पदपूर्तीका लागि आवश्यक प्रक्रिया सुरु गरिने भएपनि केही समय लाग्ने पाण्डेले बताए। तर अस्पताल विकास समितिका अध्यक्ष लगायतका केही राजनीतिक दलका नेताहरुले आर्थिक चलखेल गरी संघिय सरकारले अर्को व्यवस्था नगरेका बेला दबाब दिदै समायोजन भएका कर्मचारीलाई सम्बन्धीत स्थानमा जान सूचना जारी गरेको आरोप लागेको छ।

अस्पताल विकास समितिले ती कर्मचारी गएमा निकटका व्यक्तिलाई भर्ना गर्ने चलखेल गरेको आरोप लागेको हो। तर अस्पताल विकास समितिका अध्यक्ष दुर्गा जोशी भने उक्त आरोप गलत भएको बताउँछन्। उनले आर्थिक चलखेल भएको आरोप गलत भएको बताउँदै कर्मचारी समायोजनमा आफ्नो कुनै स्वार्थ नभएको बताए।

तर ती कर्मचारी गएपछि सेवा प्रभावित हुन नदिन सामाजिक विकास मन्त्रालयसंग पदपूर्तीका लागि पहल गरिरहेको दावी उनको थियो। यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन प्रक्रिया अझै सुरु गर्न सकेको छैन्।

सेती अस्पतालमा अहिले कार्यरत प्रशासन तर्फका केही कर्मचारी समेत गरी १३ जना नर्सिङ कर्मचारी र स्वास्थ्यकर्मी समायोजन भएर गएमा सेवा प्रभावित हुने देखिएपनि विकल्प नखोजिएको हो। तर सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने छिट्टै प्रक्रिया थालिने बताए। 
 

      

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस