कैलालीमा प्रदेश सांसदको तीन करोडको पूर्वाधार कार्यक्रममा सामुदायिक भवनका योजना बढि
कैलालीमा कार्यकर्ता खुसी बनाउने माध्यम बनेको प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रममा यसवर्ष पनि टुक्रे योजनाले प्राथमिकता पाउने भएका छन्। जिल्लाका अधिकांश सांसदले सामुदायिक भवन र विद्यालय भवनमा पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च गर्ने गरी योजना पेश गरेका छन्।
गत वर्ष दुई करोड बजेट रहेको पूर्वाधार कार्यक्रममा यसवर्ष एक करोड बृद्धि गर्दै तीन करोड बनाईएको छ। तर पूर्वाधार विकास कार्यक्रम भने कार्यकर्ता खुसी बनाउने खालका योजना मात्र समावेश गरिएको छ। जिल्ला समन्वय समितिका अनुसार पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधीले ५० लाखको एउटा अनिवार्य गरेको योजनामा पनि महत्वपूर्ण योजनाले प्राथमिकता नपाएको देखिएको छ।
जिल्ला समन्वय समितिका समन्वय अधिकारी विरबहादुर शाहीले सांसदहरुले ५० लाखको ठुलो योजनामा पनि सामुदायिक भवन, सभाहल र विद्यालय भवनलाई नै प्राथमिकतामा राखेको पाईएको बताए। उनका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क बाट निर्वाचित राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले भजनी नगरपालिका वडा नम्बर ५ को नवलपुरदेखि ८ को बहादुरपुर सम्मको सडक ५० लाखमा स्तरोन्नती तथा कालोपत्रे गर्ने भनी योजना पेश गरेका छन्।
क्षेत्र नम्बर १ कै प्रदेश ख बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डाक्टर रणबहादुर रावलले भने ५० लाखको योजना टीकापुर नगरपालिका ५ मा रहेको केमन व्यवसायीक गाई फार्म कृषक समूहको नमूना तालिम हल निर्माण गर्ने भनी पेश गरेको समन्वय अधिकारी शाहीले जानकारी दिए।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को क का नेकपाका प्रदेशसभा सदस्य रतनबहादुर थापाले पनि ५० लाखको योजना सामुदायिक भवनमै हालेका छन्। उनले मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा रहेको जीवनजागृत ध्यान केन्द्रको सार्वजनीक सामुदायिक भवन निर्माणका लागि ५० लाख छुट्याएको जिल्ला समन्वय समितिले जनाएको छ।
क्षेत्र नम्बर २ को प्रदेश ख का नेकपाकै अर्का प्रदेशसभा सदस्य नन्दबहादुर साउँदले भने ५० लाखमा मोहन्याल २ मा रहेको बडिखर्क न्वाली सडकको ट्रयाक खोल्ने योजना समावेश गरेका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश क का नेकपाकै प्रदेशसभा सदस्य विरमान चौधरीले कैलारी गाउँपालिका ५ मा गत वर्ष अधुरा रहेका सडक कालोपत्रे तथा स्तरोन्नतीका लागि ५० लाख खर्च गर्ने बताएका छन्।
प्रदेश ख का प्रदेशसभा सदस्य अमर साउँदले घोडाघोडी नगरपालिका २ मा रहेको सुख्खड खानेपानी अण्डर ग्राउण्ड ट्याङकी निर्माण गर्ने योजना पेश गरेका छन्। यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश क का नेकपाकै प्रदेशसभा सदस्य दीर्घ सोडारीले अण्डैया सिसैरा मूल सडक कालोपत्रे र प्रदेश ख का प्रदेशसभा सदस्य एवं सामाजिक विकास मन्त्री समेत रहेका कृष्णबहादुर सुवेदीले चुरे ६ मा रहेको आमपानी बजार नायल बयला सडक स्तरोन्नतीको योजना समावेश गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी बिरबहादुर शाहीले जानकारी दिए।
निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश क का नेकपाका प्रदेशसभा सदस्य नेपालु चौधरीले ५० लाखमा धनगढी उपमहानगरपालिका १९ मा रहेको शंकर सरस्वती अन्नपूर्ण आधारभुत विद्यालय निर्माणको योजना समावेश गर्दा प्रदेश ख का कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले बीपी स्मृती केन्द्रको अधुरो सभाहल निर्माणको योजना राखेका छन्। तर प्रदेशसभा सदस्यहरुले ५० लाखको ठुलो योजना मात्र नभएर स–साना योजनामा पनि सामुदायिक भवन र विद्यालय भवनलाई प्राथमिकता दिएको जिल्ला समन्वय समितिले जनाएको छ।
यद्यपी केही हेरफेर र संशोधन गरी प्रदेश सरकारलाई पेश गर्नुपर्ने भन्दै पूर्ण विवरण उपलब्ध गराईएको छैन्। कतिपय सांसदले सडक स्तरोन्नी र कालोपत्रेका योजनालाई प्राथमिकता दिएको दावी गरिएपनि यसअघि अन्य निकायले योजना देखाउदै बजेट खर्च गर्ने अस्त्र बनाएका योजना रहेको पनि दावी गरिएको छ। तर सांसदहरुले भने संशोधित कार्यविधीका कारण समस्या भएको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले कार्यविधीकै कारण सामुदायिक भवन, विद्यालय भवन र सडकका योजना बढि समेटिएको बताए। सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधी संशोधन गर्दै पूर्वाधार विकास कार्यक्रम अन्तरगतका योजना छनौट गरी मंसिर मसान्त भित्र पेश गरिसक्नुपर्ने व्यवस्था गरेको भएपनि कैलालीमा ढिलाई पनि भएको छ।
सांसदहरुले योजना छनौट गरी जिल्ला समन्व समितिलाई बुझाएको भएपनि केही हेरफेर गर्नुपर्ने भन्दै प्रदेश सरकारलाई अझै नबुझाएको पाईएको हो। तर संशोधित कार्यविधीले विगतमा मंसिर १५ भित्र योजना बुझाईसक्नु पर्ने प्रावधानलाई मसान्त बनाउदा समेत सांसदहरु अलमलमै परेका छन्। योजना परिमार्जन र हेरफेर गर्नुपर्ने भएपनि सांसदहरुकै आग्रहमा जिल्ला समन्वय समितिले समेत अहिले सम्म प्रदेश सरकारलाई सूची नबुझाएको हो।