सुदूरपश्चिमको कृषि मन्त्रालयद्वारा कागजमा बगैँचा देखाएर दुई लाख स्वाहा !
धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कागजमा बगैँचा देखाएर दुई लाख खर्च गरेको भेटिएको छ। मन्त्रालयले गत आर्र्थिक वर्षमा मन्त्रालय परिसरमा फूलवारी तथा बगैचा निर्माण कार्यक्रमका लागि छुट्याइएको बजेट खर्च भएको देखाएपनि मन्त्रालयमा बगैचा नै नरेको पाइएको छ।
मन्त्रालय परिसरमा केही गमलामा फुल रोपिएपनि कार्यक्रममा उल्लेख भए अनुसार छुट्टै बगैँचा भने निर्माण भएको छैन। मन्त्रालयमा आएका कञ्चनपुरको बेलौरीका सेवाग्राही नारायण ओझाले मन्त्रालयमा बगैँचा नै नदेखेको बताए।
उता मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले भने गत वर्षमा धनगढीको एउटा नर्सरीलाई २ लाख बराबरका फुल लगाउन जिम्मा दिईएको दावी गरेका छन्। उनले हिउँदको महिना भएकाले फुल सुकिसकेका समेत जिकिर गरे। तर मन्त्रालय परीसरमा कति फुल रोपिए भन्ने यकिन विवरण भने नभएको उनले बताएका छन्।
मन्त्रालयको भवन अगाडी विगत ४ वर्ष पहिलेदेखिका केही गमला राखिएका छन्। स्रोतका अनुसार तिनै गमला देखाएर दुई लाख सकिएको हो। मन्त्रालय वरीपरी बेश्रमका झाडी तथा अन्य घाँसका बिरुवा उम्रेका छन्। फोहरै फोहरले भरिएको कृषि मन्त्रालय परिसर वरीपरी सरसफाईमा समेत कुनै चासो राखिएको छैन्।