सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौरीपालन व्यवसायबाटै तराईमा घरेडी

२०७६ पुष १, ०५:५९ रोशन भट्ट

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का टेक वहादुर कार्कीलाई मौरी पालन व्यवसायमा लागेको पाँच वर्ष पुग्यो। विगतमा परम्परागत रुपमा मौरी पालन गर्दै आएका कार्कीले पछिल्लो पाँच वर्ष यता भने व्यवसायिक रुप दिएका छन्। चार वर्ष अगाडी लघु उद्यम बैतडीले आफ्नो लगानीमा सुदूरपश्चिम महोत्सवमा स्टल राख्न आग्रह गरेसंगै कार्कीले उत्पादन गरेका कृषि उपजहरुले बजार पाउन थालेका हुन्।

४१ वर्षीय कार्कीलाई मौरी पालन व्यवसाय सुरु गर्नु भन्दा अगाडी आर्थिक जोह गर्न निकै समस्या हुने गरेको थियो। तर व्यवसायिक रुपमा नै मौरी पालनमा लागेपछि घर खर्च कटाएर लाखौँ वचत गर्न समेत सफल भएको उनले बताए। ‘त्यती मात्र नभएर मौरी पालन व्यवसाय र कृषि उपजको कारोबारबाट बचत भएको रकमबाट धनगढी उप–महानगरपालिकाको वोराडाडीमा घरेडी खरिद गरेको छु।’

कार्कीले भने। ‘वर्षमा दुई पटक मह निकाल्ने गरेको छु।’ ‘एक पटकमा ५० हजार भन्दा बढी फाईदा हुन्छ।’ विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवमा कृषि प्रर्दशनी गरेरै उत्कृष्टताको पुरस्कार समेत पाईसकेका कार्कीलाई बजारिकरणको भने धेरै समस्या छैन्। अहिले धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा उनले घरेलु उद्योगको सहयोगमा स्टल राखेका छन्।

विगतमा परम्परागत रुपमा मौरीपालन गर्दै आएकाहरुले समेत अहिले व्यवसायीक रुपमा पेशा अंगालेका छन्। उनीहरुले मौरीपालन व्यवसायसँगै अन्य कृषि उपजलाई सुदूरपश्चिमका अन्य जिल्ला र प्रदेश बाहिर पनि निर्यात गर्दै आएको बताएका छन्। स्थानीय र प्रदेश सरकारबाट आवश्यक सहयोग मिलेमा व्यवसायलाई थप विस्तार गर्ने योजना कार्कीको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस