पाँच महिनामा विकास बजेट खर्च ९ प्रतिशतमात्रै
चालु आर्थिक वर्षको पाँच महिनामा जम्मा ९ दशमलव शून्य ५ प्रतिशत अर्थात् जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ। यो आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएकोमा मंसिर मसान्तसम्म अर्थात् ५ महिनामा जम्मा ३७ अर्ब ४८ करोड रुपैयाँ मात्रै खर्च भएको सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
सरकारले वर्षका ११ महिना खर्च नगरे पनि असारे विकासमा भने विकास खर्च गर्ने गरेको छ। जेठ १५ देखि असार मसान्तसम्म कुल विकास बजेटको ४० प्रतिशत खर्च हुने गरेको छ। सरकारले यो वर्ष विकास खर्चमा सुधार हुने दाबी गरे पनि पाँच महिनामा जम्मा ९ दशमलव ५ प्रतिशत मात्रै खर्च गर्न सकेको हो। सरकारले अब ७ महिनामा ३ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ।
यस्तै चालु आर्थिक वर्षको लागि सरकारले ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याएकोमा पाँच महिनामा २ खर्ब ४६ अर्ब ९२ लाख अर्थात् २५ दशमलव ८० प्रतिशत खर्च भएको छ। त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा पाँच महिनामा १४ अर्ब १६ करोड रुपैयाँ अर्थात् ८ दशमलव ४४ प्रतिशतमा मात्रै खर्च भएको छ।