कैलालीको लम्कीमा मेयरकै संलग्नतामा कानून विपरीत नदीजन्य वस्तु उत्खनन् गरी निकासी
कैलालीको लम्कीचुहा नगरपालिकाले कानून मिचेर नदीजन्य वस्तुको उत्खनन् गरी निकासी गरिरहेको पाईएको छ। लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईकै सिफारिसमा कानून विपरीत नदीजन्य वस्तु उत्खनन् गरी निकासी गरेको पाईएको हो। नगर प्रमुख बजगाईले नगरपालिकामा पेश भएको निवेदनकै आधारमा निर्माण व्यवसायीलाई नदीजन्य वस्तु उत्खनन् गरी बाँकेको बैजनाथ गाउँपालिका पठाएको दावी गरिएको छ।
दिनेश खबरलाई प्राप्त सूचना अनुसार नगरपालिकामा देउती निर्माण सेवाले पेश गरेको निवेदनका आधारमा नगर प्रमुख महादेव बजगाईकै सिफारिसमा नदीजन्य वस्तु उत्खनन्को अनुमती दिईएको छ। मंसिर १६ मा लम्कीचुहा नगरपालिकाले देउती निर्माण सेवालाई उत्खनन्को अनुमती दिएको छ।
मेयर बजगाईद्धारा हस्ताक्षरित अनुमती पत्रमा भनिएको छ, ‘प्रस्तुत विषय सम्बन्धमा देउती निर्माण सेवा प्राली लम्कीचुहा नगरपालिका १ कैलालीले यस कार्यालयमा ढुङगा तथा ग्रावेल बालुवा उत्खनन् गर्न पाउन भनी पेश गरेको निवेदन अनुसार नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने (IEE) भएका नदीजन्य क्षेत्रबाट बा १ क ८२७८ नम्बरको भ्याकुलोडर प्रयोग हुने गरी नियमानुसार पत्रको मितिले १५ दिन सम्म लागु हुने गरी ग्रावेल वालुवा तथा ढुङ्गा उत्खनन्को अनुमती दिईएको छ।’'
तर यसरी नगरपालिकामा पेश भएको निवेदनका आधारमा उत्खनन्को अनुमती दिनु कानून सम्मत नहुने सरकारी अधिकारीले बताएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका सूचना अधिकारी मदनराज पाण्डेले स्थानीय तहले नदीजन्य वस्तु उत्खनन् तथा निकासीको ठेक्का दिनुपर्ने बताए। तर कुनै निर्माण व्यवसायीले पेश गरेको निवेदनका आधारमा अनुमती दिनु कानून विपरीत हुने उनी बताउँछन्।
पाण्डेले भने, ‘रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० तथा नियमावली २१ अनुसार नदीजन्य वस्तु उत्खनन्का लागि सूचना जारी गरी बढाबढबाट ठेक्का दिनुपर्छ। निवेदनकै आधारमा भने दिन मिल्दैन्।’ तर लम्कीचुहामा नगर प्रमुख बजगाईकै सिफारिसमा नदीजन्य वस्तु उत्खनन् भईरहेको हो।
त्यसरी उत्खनन् गरिएको नदीजन्य वस्तु सुदूरपश्चिम बाहिरका जिल्लामा निकासी हुदै आएको दावी गरिएको छ। लम्कीचुहा नगरपालिकाले अवैध रुपमा उत्खनन् गरेको नदीजन्य वस्तु बाँकेको बैजनाथ गाउँपालिका लगायतका स्थानीय तहमा पठाएको पाईएको छ। नगर प्रमुख बजगाईले उत्खनन र निकासी सिफारिस दिए बमोजिम दैनिक प्रती टिप्पर दुईदेखि पाँच हजार लिदै आएको आरोप लागेको छ।
नगरपालिकाको गैर कानूनी काममा ईलाका प्रहरी कार्यालय चिसापानीले समेत सघाउदै आएको आरोप लागेको छ तर ईप्रका चिसापानीका प्रमुख प्रहरी निरिक्षक दिपेन्द्र खत्रीले भने उक्त कुरा गलत भएको बताए। उनले भने, ‘नगरपालिकाले दिएको सिफारिसका आधारमा हामीले नदीजन्य वस्तु उत्खनन् र पैठारी हुन दिएका छौँ।
बाँकी कानूनी प्रक्रिया के हो त्यो हामीलाई जानकारी भएन।’ अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरी निकासी भईरहेको विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख महादेव बजगाई सम्पर्कमा आएनन्। अहिलेका निमित्त कार्यालय प्रमुख बिक्रम चौधरी सँग पनि पटक पटक सम्पर्क गरिएपनि उनको फोन उठेन।