रैथाने बालीको खेती घट्दै, उत्पादन चिनाउन महोत्सवमा स्टल
बजारीकरणमा समस्या भएपछि बाजुरामा रैथाने बालीको खेती गर्ने क्रम र उत्पादन घट्दै गएको छ। बाजुराको रैथाने बालीको रुपमा चिनिने जौ, कोदो, उवा, फापर, चिनो, कागुनो, लट्टे, रातो चामल, गान्टेमुला जस्ता दर्जनौँ वालीको खेती गर्ने क्रम घटेको हो। सुदूरपश्चिममा उपभोग हुने खाद्यन्य वस्तु प्रदेश बाहिर तथा भारतबाट आयात हुने गरेको छ तर स्थानीय उत्पादनको बजारीकरणमा जोड दिईएको छैन्।
बाजुरामा उत्पादन हुँदै आएको स्थानीय तथा रैथाने बालीको संरक्षण, सम्वद्र्धन र व्यवसायिक रुपमा खेतीलाई अगाडी बढाउन वेवास्ता गरेको वाजुराका किसान कृष्ण खड्काले बताए। कम खेती योग्य जमिन, सिँचाई सुविधाको कमि, उन्नत प्रविधिमा कृषकको पहुँच नहुदा समस्या भएको उनले बताए। उत्पादित उपजको बजारिकरण नहँुदा किसानहरु समस्यामा परेको उनले बताए। जिल्लामा नौ वटा स्थानीय तहहरु रहेका छन्।
आफ्नो स्थानीय तहमा उत्पादन हुने बालीलाई बजारिकरण गर्न सोही स्थानीय तहले पहल गरे धेरै सहज हुने देखिएको छ। नजिकै प्रदेश सरकार पनि छ तर बाजुराको स्थानीय उत्पादनलाई चिनाउन समेत पहल भएको छैन्। यस्ले गर्दा कृषि पेशा तिर लागेकाहरुलाई व्यवसायिक बनाउन पनि चुनौती थपिएको छ। यो संगै पेशाबाट नै पलायन हुने क्रम सुरु भईसकेको छ।
परम्परात रुपमा खेती गर्ने किसानहरुलाई आधुनिक प्रविधिको समेत ज्ञान नहुँदा उत्पादनमा प्रत्येक वर्ष ह्रास आउन थालेको भन्दै किसानहर चिन्तीत भएका छन्। बाजुराको स्थानीय उत्पादनलाई चिनाउने भन्दै अहिले धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा बाजुराको कोसेली नाम दिएर स्टल राखिएको छ। उक्त स्टलमा बाजुराका १२ भन्दा वढी कृषि उपज राखिएको छ। कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा लक्ष्मी ऋण तथा सहकारी संस्थाले महोत्सवमा स्टल राखेको हो।