धनगढीमा घरमाथि रुख खस्यो
धनगढीमा एक घरमाथि रुख खसेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ बस्ने तारीसिंह भाटको टिनले छाएको ३ कोठे कच्ची घरमाथि रुख खसेकेका हो। सुकेको सालको रुख ढलेपछि २ कोठामा पूर्ण रुपमा क्षती भएको र २ वटा पङखा, स्टिलको दराज, पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वडा नम्वर ४ का विभिन्न क्षेत्रमा दर्जनौ सुकेका रुख भएपनि कटानका लागि अनुमती नहुँदा जोखिम बढ्दै गएको छ।
शनिवार मात्रै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को बोराडाँडी ब्यारेक नजिक पनि सुकेको रुख ढलेको थियो। उत्तरबेहडीमा बस्तीको बिचमा रहेका सालका रुख कटानको कार्यमा पनि ढिलाई भएको छ। जिल्ला वन कार्यालय कैलालीले २०७४ सालको कार्तीकमा नै रुख कटान गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म काम नभएको हो।
बस्तीको बिचमा रहेका ८९ ओटा सालका रुखका कारण स्थानिय वासिन्दा भने त्रासमा दैनिकी बिताउन बाध्य भएका छन्। उत्तरबेहडीको ४० घर परिवार बसेको बस्तीमा ८९ ओटा सालका रुखहरु सुकेको अवस्थामा छन्। सुकेका रुखका हांगाहरु बेलाबेला घरको छानामा खस्ने गरेका कारण आफुहरु अति नै जोखिममा रहेको स्थानिय वासिन्दाहरुको भनाई छ।