लागत अनुसार मूल्य नपाएको भन्दै देशभरका ह्याचरी उद्योग आजदेखि १० दिन बन्द
लागत अनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ। आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए।
‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’ उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्छ, तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम छ। लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो।
ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन्।
१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताए। नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक भए पनि हालको उत्पादन ४५ लाख छ। ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको जानकारी दिइएको छ।
यसो हुँदा एक लाख हाराहारी प्यारेन्ट घट्ने छन्। नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन्। चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी छन् । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको बताईन्छ। पञ्चरत्न फिड्का प्रमुख एवम् पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराईले चल्ला उत्पादन गरेर निरन्तर घाटा भोग्नुपरेकाले १० दिन बन्द गर्न लागिएको बताए।
‘आफूहरुको लागत ५५ भन्दा माथि हुन्छ १५र२० रुपैयाँ गोटा चल्ला बेच्दा भएको घाटा कसरी कहिलेसम्म सहने ?’ डा। भट्टराईले भने, ‘मैले त २० मा बेच्नुभन्दा खाल्डामा पुरिदिन भनेको छु।’बजार किन यस्तो अनियन्त्रित भयो भन्नेबारेमा खोजी भैरहेको डा। भट्टराईले बताए।
कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नुलाई व्यवसायीहरुले चुनौतीका रुपमा लिएका छन्। ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले व्यवसायीले मात्र नभई किसानले समेत उचित मूल्य नपाएको बताउँछन् । अहिले कृषकबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठाएर उपभोक्तासम्म पुग्दा २६० रुपैयाँ लिने गरिएको सचिव लामिछाने बताउँछन्।
दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पुगेको छ। ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ। लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको लामिछानेले बताए।नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी छ।
ब्यवसायीहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको पोल्ट्री विज्ञ डा। भट्टराइले बताए। नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ। चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउँछन्।