सुदूरपश्चिममा पुष १६ गते धनगढीबाट भ्रमण वर्षको शुभारम्भ गरिने
सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्न तयारी तिव्र पारिएको दावी गरेको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन आवश्यक पर्ने तयारी भईरहेको जनाएको छ। भ्रमण वर्ष २०२० आउन तीन साता मात्रै बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले तयारी तिव्र पारिएको दावी गरेको हो।
लामो रस्साकस्सीपछि भ्रमण वर्षलाई लक्षित गर्दै गठन गरिएको सुदूरपश्चिम प्रदेश पर्यटन प्रवद्र्धन समितिको समन्वयमा तयारी तिव्र पारिएको दावी गरिएको हो। प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष २०२० को भव्य रुपमा औपचारिक उद्घाटन गर्ने तयारीमा रहेको जनाएको छ।
जनवरी एक तारिक अर्थात पौष १६ गतेका दिन धनगढीमा औपचारिक समारोह गर्दै भ्रमण वर्षको उद्घाटन गर्ने प्रदेशको पर्यटन मन्त्रालयको पर्यटन विकास शाखाका प्रमुख तथा भ्रमण वर्ष २०२० का सम्पर्क व्यक्ति भोजराज पाठकले जानकारी दिए।
उनले अहिले पर्यटन प्रवद्र्धन समिति मार्फत तयारीलाई तिव्र पारिएको जिकिर गरे। पाठकले भ्रमण वर्षलाई लक्षित गर्दै गठन गरिएका उप–समितिहरुलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर तयारी भईरहेको जनाए। प्रदेश सरकारले भ्रमण वर्षलाई उद्घाटन गर्ने तयारी गरेका बेला अन्य गतिविधी भने खासै गर्न सकेको छैन्।
भ्रमण वर्षमा सुदूरपश्चिममा बढि भन्दा बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने कुनै योजना बनाईएको छैन्। जसले गर्दा भ्रमण वर्षमा अपेक्षीत पर्यटक भित्रिनेमा आशंका गरिएको छ। प्रदेश सरकारले प्रदेशभरी स्थापना गर्ने भनिएका सूचना केन्द्र समेत स्थापना गर्न सकेको छैन्। तर मन्त्रालयको पर्यटन विकास शाखाका प्रमुख भोजराज पाठकले सूचना केन्द्र स्थापना गर्न ढिलाई नभएको दावी गरे।
उनले स्थापना गर्न अघिका प्रक्रिया पूरा गरी प्राविधिक समेत खटाईसकेको बताउँदै छिट्टै सूचना केन्द्र स्थापना हुने बताए। सुदूरपश्चिम प्रदेशमा धार्मिक तथा पर्यटकिय स्थल पर्याप्त मात्रामा भएपनि प्रचार प्रसार भौतिक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन्। नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि प्रयास भएपनि राज्य भने उदासिन बन्दै आएको छ।
पछिल्लो समय आएका प्रदेश र स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि खासै पहल गर्न सकेका छैनन्। तर पर्यटन प्रवद्र्धनका नाममा वर्षेनी करोडौँ बजेट खर्च गरिदै आएको छ। प्रदेशको पर्यटन मन्त्रालयले मात्रै गत वर्ष पर्यटन प्रवद्र्धनको नाममा झण्डै ३२ करोड खर्च गरेपनि उपलब्धी भने शुन्य देखिएको छ।
पर्यटकीय स्थलमा भौतिक पूर्वाधारको विकास र प्रचार प्रसार गर्न नसकेमा भ्रमण वर्ष २०२० मा अपेक्षित पर्यटक भित्रिने आशंका व्यक्त गरिदै आएको छ। तर पर्यटन मन्त्री माया भट्टले भने गुरु योजना बनाई पूर्वाधार विकास गरिने बताईन्।
उनले प्रदेश सरकारले त्रिवर्षीय योजना बनाउँदै पूर्वाधार विकास नभएका पर्यटकीय स्थलमा विस्तार गर्ने तथा स्थापना भईसकेका क्षेत्रमा सुधार गरी पर्यटन प्रवद्र्धन गरिने बताईन्।
भ्रमण वर्ष २०२० मा सुदूरपश्चिममा बढि भन्दा बढि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको दावी मन्त्री भट्टको छ। भट्टले प्रदेशबासीलाई भ्रमण वर्ष सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरिन्।