धनगढीको नवजीवन सहकारीले अब काठमाडौँबाट पनि सेवा दिने
धनगढीमा प्रधान कार्यालय रहेको नवजीनव सहकारीले अब काठमाडौँमा पनि कार्यालय स्थापना गर्दै सेवा दिने भएको छ। नवजीवन सहकारीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ सहित थप ६ स्थानबाट पनि वित्तिय सेवा दिन लागेको जानकारी दिएको हो।
काठमाण्डौँको नयाँ बानेश्वर, कञ्चनपुरको आई.बि.आर.डी, कैलालीको राजपुर, चौमाला, हसुलिया र डडेल्धुराको खलंगामा सेवा केन्द्र सञ्चालन गरी सेवा दिने तयारी थालिएको सहकारीले जनाएको छ। अहिले धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले टीकापुर, अत्तरिया, सुख्खड, जोशीपुर र बर्दियाको बाँसगढीमा स्थापना भएका शाखा कार्यालयबाट सेवा दिदै आएको छ।
सहकारीका शेयर सदस्यको बसोबास काठमाण्डौँमा पनि रहेकाले उनीहरुको सेवाका लागि सेवा केन्द्र बिस्तार गर्ने योजना बनाएको सहकारीका अध्यक्ष चक्रबहादुर सिँहले बताए। यसैबिच नवजीवन सहकारीले पहिलो चौमासिकमा एक करोड ५७ लाख २७ हजार मुनाफा कमाएको छ।
सहकारीले चालु आर्थिक वर्षमा उक्त मुनाफा कमाएको हो। यस्तै सहकारीले हाल सम्म तीन अर्ब १३ करोड ५६ लाख ६२ हजार रुपियाँ निक्षेप सङ्कलन गरेको छ। २५ वर्षको अवधीमा संकलन गरेको निक्षेप धनगढीका केही बैँक भन्दा बढि रहेको अध्यक्ष सिंहले बताए।
१८ करोड २० लाख ४२ हजार शेयर पुँजी रहेकोमा हालसम्म दुई अर्ब ८७ करोड ५४ लाख ६१ हजार ऋण लगानी गरेको छ। सहकारीले गत आर्थिक वर्षमा १३ करोड १८ लाख ६३ हजार मुनाफा कमाएको थियो।