सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा कैलालीका अध्यक्ष थापा लम्कीका मेयर बजगाई विरुद्ध खनिए

२०७६ मंसिर २५, ०१:२९ खबर संवाददाता

नेकपा कैलाली अध्यक्ष रतनबहादुर थापा लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाई विरुद्ध खनिएका छन्। मंगलबार लम्कीमा भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा प्रदेशसभा सदस्य समेत रहेका थापाले मेयर बजगाईले लम्कीचुहामा मनपरी गरेको भन्दै पार्टीबाट कारवाही गर्ने चेतावनी दिएका छन्।

उनले लम्कीचुहा नगरपालिकाले करोडौँको आर्थिक अनियमितता गरेको भन्दै सञ्चार माध्यममा समाचार आएको बताउँदै मनपरी गरिएको आरोप लगाएका छन्। उनले नगरपालिकामा करोडौँका योजना उपभोक्ता समितिलाई दिदै फेरी ठेकेदारबाटै काम गराएर नाटक गरिएको आरोप लगाए।

थापाले भने, ‘कैलालीका कुनै पनि स्थानीय तहले १० ला भन्दा बढिका योजना ठेक्का मार्फत कार्यान्वयन गरेका छन् तर हाम्रो यहाँ दुई करोडका योजना उपभोक्ता समितिलाई दिईएको छ। उपभोक्ता समितिले फेरी ठेकेदारलाई दिएको छ त्यो के नाटक गर्नुप¥र्यो।’ ‘ठेकेदारलाई दियो भने एक करोडको बजेटमा ७५ लाखमा काम गर्छ अनी बिचको पैँसा कहाँ जान्छ।’ थापाले उल्लेख गरे।

उनले समान्य सहकारीले पनि वर्षेनी आयव्यय विवरण सार्वजनिक गर्ने गरेको तर लम्कीचुहा नगरपालिकाले तीन आर्थिक वर्षको आयव्यय लुकाएको आरोप लगाए। यस्तै थापाले नगरपालिकाको पैँसाले खरिद गरिएको गाडी अस्पताललाई दिदै नगर प्रमुखले चर्चा कमाउन खोजेको समेत बताएका छन्। 

थापाले भने, ‘नगरपालिकाको पैँसा खरिद गरिएको गाडी अस्पताललाई दिएर व्यक्तिगत मेयरले दिएको झै गरी प्रचार गरिएको छ।’ तर गाडीको दुरुपयोग भईरहेको पनि उनले बताएका छन्। ‘त्यो गाडी बिहान कुखुराको फार्ममा भेटिन्छ राती होटलमा भेटिन्छ।’

थापाले ती सबै गतिविधी आफूले नियालिरहेको भन्दै आफू पार्टीको जिल्ला अध्यक्ष भएकाले अनुसन्धान गरी कारवाही गरिने चेतावनी समेत दिएका छन्। ‘लुट्ने कसैलाई पनि छुट छैन् हामी जनताको सेवा गर्न आएका हौँ।’ उनले भने।  ‘मैले रोके थामे धेरै, भीम रावल कमरेडलाई भने, उपप्रमुखलाई तपाईले टिकट दिएको हो मैले दिएको होईन, मैले त बर्दिया लगेर लुकाएर राखेको थिए। आज डिप्रेसन भईसक्यो।’

लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापा उनकी श्रीमती हुन्। मेयर महादेव बजगाई नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावल निटक मानिन्छन् भने थापा अहिले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। लम्कीचुहामा पार्टी भित्र फरक गुटको भएकै कारण उपप्रमुखलाई कार्य सम्पादन चुनौती खेप्नुपरेको दावी गरिदै आएको छ। 
 
  

कमेन्ट लोड गर्नुस