सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री

। फोटो स्रोत ।
२०७६ मंसिर २५, ०१:२२

सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ। सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३१३ आम्दानी गरेको हो। 

साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५÷०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले बताए। किसान आफैँले लगानी गरेर स्थापना गरेको यो चिया प्रशोधन कारखाना झापाको पहिलो हो। निजी क्षेत्रका उद्योगले किसानले उत्पादन गरेको हरियो चियापत्तीको उचित मूल्य नदिएपछि साना चिया किसानहरुले आफैं उद्योग स्थापना गरेका हुन्।

कारखाना स्थापना भएपछि यहाँका किसानले राम्रो मूल्यमा हरियो चिया पत्ति बिक्री गरिरहेको संस्थाका अध्यक्ष सूर्यमान लिवाङले बताए। “निजी कारखानाले आफू अनुकूल मूल्य दिँदा किसान मर्कामा परेका थिए”, उनले भने, “किसानको प्रयासमा सरकारले सहयोग गरेपछि चिया किसानले राहत पाएका छन, चिया खेतीमा आकर्षण पनि बढ्दै गएको छ।” विसं २०७१ मा रू ६ करोडको लगानीमा उक्त कारखाना स्थापना भएको हो। रासस
 

कमेन्ट लोड गर्नुस