सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा एउटै गाउँ जोड्ने नेकपा र काँग्रेसका फरक–फरक सडक

२०७६ मंसिर २५, १०:४० कमल सावद

कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर ६ को गढी–बयला–गजर–नायल सडकका लागि आर्थिक वर्ष २०७१/०७२ मा १३ लाख बजेट विनीयोजन भयो। आर्थिक वर्ष २०७२/०७३ मा नेपाली काँग्रेसका तत्कालीन संविधानसभा सदस्य दीर्घराज भाटले सोही सडकमा आठ लाख खर्च गरे।

सांसद भाटको क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट तीन किलोमिटर सडक निर्माण गरिएको थियो। तर अहिले चुरे गाउँपालिकाले उक्त सडकबारे चासो लिएको छैन्।  बरु बयाला गाउँ नै जोड्ने नयाँ सडक निर्माणको काम थालेको छ। तत्कालीन गौडी–बयाला–गाजर–नायल सडक उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर सुर्जामगरका अनुसार काँग्रेसका प्रतिनिधिले बजेट खर्च गरेको सडक मर्मत गर्न पनि चुरे गाउँपालिकाले बजेट दिन आनाकानी गरेको छ।

गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका फरक–फरक सडक निर्माण भइरहेको पाइएको हो। चुरे गाउँपालिका वडा नम्बर ६ को बयाला गाउँसम्म जोड्ने सडक नेकपा र काँग्रेसको फरक फरक रहेको पाइएको छ। चुरे गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीको स्थानीय सरकार रहेकाले विगतमा नेपाली काँग्रेसबाट निर्वाचीत जनप्रतिनिधिले निर्माण गरेको सडकमा मर्मतका लागि पनि रकम नदिएको गुनासो काँग्रेस पक्षको छ।

तत्कालीन उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर सुर्जा मगरले भने, ‘मुख्य राजमार्गबाट बयालाका लागि तीन किलोमिटर सडक निर्माण गरिएको थियो। अहिले पनि सो सडक चालु छ। गाउँपालिकाले मर्मतका लागि पनि रकम विनियोजन गर्न आनाकानी गर्दै आएको छ।

उनीहरुले नै राजनीतिक आस्थाका आधारमा सडक निर्माण गरेका हुन्।’ दुई आर्थिक वर्षमा सडक निर्माणका लागि २१ लाख खर्च भएको थियो। सो सडकमा अहिले पनि सवारी साधन सञ्चालनमा छन्। नेपाली काँग्रेसबाट निर्वाचीत जनप्रतिनिधिले विनियोजन गरेको रकमबाट निर्माण गरेको सडकलाई स्तरबृद्धि नगरेर गाउँपालिकाले अर्काे ठाउँबाट सोही गाउँ हुदै २५ किलोमिटर सडक निर्माणका लागि सम्झौता गरेको छ।

 

जिल्लाको चुरे गाउँपालिकामा नेकपाको स्थानीय सरकार भएकाले काँग्रेसबाट निर्वाचित प्रतिनिधिले निर्माण गरेको सडकमा स्तरबृद्धि नगरेको आरोप लागेको छ। नेकपाले पुनारो बाटो भन्दै फल्टुडे–बयाल–दुगार्नी–गाजर सडक निर्माणका लागि सम्झौता गरेको हो।

गत आर्थिक वर्षमा एक करोड ७० लाखमा फल्टुडे–बयाला–दुगार्नी–गाजर २५ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको थियो। अहिले निर्माण कम्पनीले सडक निर्माण कार्य गर्दै छ। नयाँ सडकमा ट्रयाकसंगै ग्रावेलको योजना पनि छ।

गाउँपालिकाको वडा नम्बर ६ लाई जोड्ने बयाला गाउँका लागि छोटो दुरीको पुरानो बाटो भएकाले सोही बाटो लाई दीर्घकालिन सडकका रुपमा लिएको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले बताए। ‘राजनीतिक आस्थाका आधारमा नयाँ सडक निर्माण गरेका हैनौ। पुरानो सडक भएकाले दिर्घकालिन रुपमा विकासका लागि सडक निर्माणको ठेक्का सम्झौता भएको हो।

नयाँ सडक नाली सहितको ग्रावेल हुन्छ।’ राजनीतिक खिचातानीका कारण अव सडक पनि पार्टी अनुसार फरक–फरक हुन थालेका हुन्। पूरानै सडकको स्तरोन्नती गर्दा बजेट कम खर्च हुने थियो तर त्यसको श्रेय अर्को पार्टीलाई जाने भन्दै अहिले नयाँ सडक निर्माण गरिहेको आरोप लागेको छ। 

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस