सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोष्टमार्टम गर्न समेत चिकित्सक नै छैनन्, जिल्ला अस्पताल डोटीमा

२०७६ मंसिर २५, ०७:०३

डोटी– जिल्ला अस्पताल डोटीमा चिकित्सक नहुँदा समस्या भएको छ। भएका चिकित्सक जति कर्मचारी समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक खाली भएका हुन्। चिकित्सक नहुँदा बिरामीको जाँचदेखि शवपरीक्षण गर्ने चिकित्सक नहुँदा निकै समस्या भएको छ। कूल चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल डोटीमा अहिले एकजना पनि शवपरीक्षण गर्ने सरकारी मान्यता प्राप्त चिकित्सक छैनन्। शवपरीक्षण गर्ने जिम्मेवारी पाएका चिकित्सक भुषण मिश्रको कर्मचारी समायोजनामा काठमाडौँ सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शवपरीक्षण गर्ने अधिकार पाएका चिकित्सक छैनन्। शवपरीक्षण गर्ने जिम्मेवारी पाएका चिकित्सक नहुँदा शवपरीक्षण गर्न निकै समस्या भएको छ।

चिकित्सक नहुँदा उनीहरूले शवलाई जिल्ला बाहिरका अस्पताल लैजानु पर्ने बाध्यता भएको छ। यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खोपले एक शिशुको मृत्यु भयो। घण्टेश्वर स्वास्थ्य चौकीका इन्चार्ज हिरा भट्टले नै खोप लगाएका थिए। घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा गएको मङ्गलबार खोप लगाएका स्थानीयवासी टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएपछि निज बालकको शवपरीक्षण गर्न जिल्ला अस्पताल डोटी ल्याइयो तर यहाँ शवपरीक्षण गर्ने चिकित्सक नहुँदा उनका परिवारले बालकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगियो त्यहाँ पनि शवपरीक्षण गर्ने चिकित्सक नहुँदा अन्ततः बालको शव कैलाली जिल्ला लगेर परीक्षण गर्नुप¥यो। 

“एकातिर छोरो मरेको पीडा अर्को तिर चिकित्सक नहुँदा जिल्लामा पोष्टमार्टम हुन नसक्दा निकै दुःख भयो,” मृतक बालकका ठूलाबुबा हेमप्रकाश मल्लले भने, “जिउँदो छन्जेल त उपचार गर्न सकेनन्, मरेपछि पनि कस्तो पीडा दिएको, चिकित्सक ल्याउन नसक्ने कस्ता जनप्रतिनिधि चुन्नेछौँ।” मृतक बालक प्रवीणका हजुरबुबा टेकबहादुर मल्लले अस्पतालमा शवपरीक्षण गर्ने चिकित्सक ल्याउन नसक्नु जनप्रतिनिधिको कमजोरी भएको बताए। 

उनले गहभरि आँसु झार्दै भने, “चिकित्सक नहुने अस्पताल खोलेर के काम, यस्ता अस्पताल बन्द गर्नुपर्छ।” उनको मात्र होइन जिल्लामा शवपरीक्षण गर्ने चिकित्सक नहुँदा दजनौँ स्थानीयवासीले यस्तो समस्या झेल्दै आएको दिपायल पिपल्लाका स्थानीयवासी ध्वजबहादुर देउवाले बताए। उनले भने, “उपचार गर्न गयो चिकित्सक हुँदैनन्, अब त हुँदा हुँदा शवको पोष्टमार्टम गर्ने चिकित्सक पनि छैनन्, योभन्दा अरू बिजोग के होला र?” 

उता जिल्ला अस्पताल डोटीको कर्मचारी भर्नादेखि अन्य रेखदेखको जिम्मेवारी पाएको जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीले शवपरीक्षण गर्ने चिकित्सक ल्याउने तयारी भएको जनाएको छ। जिल्ला अस्पताल डोटीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपाका नेता यज्ञराज जोशीले जिल्ला अस्पतालमा शवपरीक्षण गर्ने चिकित्सकदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरेको बताए। उनले भने, “चिकित्सक लागयत केही चिकित्सकका लागि माग गरेका छौँ, सरकारले नपठाए अस्पताल व्यवस्थापनकै तर्फबाट भए पनि भर्ना गर्छौं।” 

जिल्ला अस्पताल डोटीमा मात्रै नभएर यहाँका अन्य पहाडी जिल्लाहरू बैतडी, बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा र अछाम जिल्लाका अस्पतालमा समेत शवको परीक्षण गर्ने जिम्मेवारी पाएका सरकारी चिकित्सक छैनन्। शवको परीक्षण गर्ने जिम्मेवारी पाएका सरकारी चिकित्सकहरू कर्मचारी समायोजनमा परी केन्द्र र प्रदेश सरुवा भएपछि यहाँका चिकित्सक अभाव भएका हुन्। यहाँका सरकारी अस्पतालहरूमा अधिकांश जिल्लामा निजी क्षेत्रका सङ्घसंस्थाले खटाएका चिकित्सकहरूले बिरामीको सेवा दिँदै आएका छन्। रासस

कमेन्ट लोड गर्नुस