सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने– बिहान पत्रिका पढ्दा दिनभरी 'मुड अफ' हुन्छ

२०७६ मंसिर २४, ०६:४६ आशिष मल्ल

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहान पत्रिका पढे आफुलाई दिनभरी तनाव हुने बताएका छन्। धनगढीमा आयोजित प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि  सुझाव संकलन तथा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै उनले आमसञ्चार माध्यमहरुले सरकारका नकारात्मक कुरा मात्र खोतल्ने भन्दै यस्तो बताएका हुन्। ‘पत्रिका भनेको बिहान मुड फ्रेस गर्न पढिन्छ, तर आजभोलीका पत्रिकाहरुका समाचार दिनभरी मुड अफ गर्ने खालका हुन्छन’ उनले भने।

सञ्चारर्मीतर्फ इंकित गर्दै मुख्यमन्त्री भट्टले सबैलाई स्वतन्त्रता भयो भन्दै अरुलाई हानी, नोक्सानी नपुर्याउन अनुरोध गरे। उनले सही र गलत छुट्याएर मात्र धारणा बनाउनु जरुरी रहेको बताए। आजभोली समाजिक संजालले साना घटनालाई ठुला बनाउने गरेको भन्दै उनले त्यसमा संयमता अपनाउनुपर्ने बताए। 

त्यस्तै देशमा तीन तहको सरकार बनेको बेला दोहोरो बजेट पर्नुमा स्थानीय सरकार दोषी रहेको उनले बताए। उनले भने ‘पहिला संघिय सरकारले बजेट विनियोजन गर्छ, त्यसपछि प्रदेश सरकारले तर त्यति थाहा पाउँदा पाउँदैपनि स्थानीय सरकारले त्यही शिर्षकमा बजेट विनियोजन गर्छ, त्यसकारण कमजोरी स्थानीय सरकारको हो।’ 

‘आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने विधेयक’ 
प्रदेश सरकारले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने खालको विधेयक तयार गरीरहेको कार्यक्रमका सहभागीहरुले बताएका छन्। सुदूरपश्चिम सरकार अन्तरर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयलले बनाएको विधेयकको मस्यौदा उपर छलफल गर्दा सहभागीहरुले आफुलाई त्यो मस्यौदा चित्त नबुझेको बताएका हुन्। सुझाव संकलन कार्यक्रममा बोल्दै धनगढीका पत्रकार मनमोहन स्वाँरले बनाइएको विधेयकको मस्यौदाका बुँदाहरु हेर्दा रेडियो र टेलिभिजन नियन्त्रण गर्न बनाइएको जस्तो लागेको बताए। 

त्यस्तै पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले विधेयकको मस्यौदामा पत्रकारको स्वतन्त्रतामाथि खलल पुर्याउने खालका बुँदा रहेको भन्दै त्यसलाई सच्याउन सुझाव दिए। त्यस्तै नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले तयार भएको विधेयकको मस्यौदा संवैधानिक व्यवस्था र प्रेस स्वतन्त्रतालाई ख्याल गरेर मात्र पारित हुनुपर्ने बताए। 

सूचना दिनै मान्दैनन् स्थानीय तह
सूचनाको हकको बारेमा भएकोे छलफलमा सहभागीहरुले स्थानीय तहले सूचना लुकाउने तथा दिन अटेरी गर्ने गरेको दुखेसो पोखेका छन्। पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष अवस्थीले सुचनाको हक प्रयोग गर्दा समेत स्थानीय तहहरुले सुचना नदिएको आफ्नो तितो अनुभव सुनाए। ‘कञ्चनपुरमा ९ स्थानीय तह रहेका छन, केही समय अघि मैलै सबै स्थानीय तहहरुमा सूचना उपलब्ध गराउन निवेदन दिएको थिए। तर ३ तह बाहेक ६ तहले कुनै सूचना दिएनन।’

त्यस्तै कार्यक्रमबारे बोल्दै पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले रेडियोबारे बन्न लागेको विधेयकको मस्यौदामाथी छलफलमा कैलालीमा काम गरिरहेको रेडियोको प्रतिनिधित्व नगराइएको प्रति आपत्ति जनाएका थिए। कार्यक्रमको समापन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले विधेयकको मस्यौदा प्रारम्भिक भएकाले दिइएका सुझाव संकलन गरेर मस्यौला संसोधन हुने बताए। उनले बेलाबेला सरकारलाई खबरदारी र झकझक्याइरहन सञ्चारकर्मिहरुलाई आग्रह  समेत गरे। 

विधेयकको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन एव्म सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा एफएमडीसी र सूचनाको हकको राष्ट्रिय संजालको सहकार्यमा सम्पन्न भएको हो।
 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस