सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सक्रिय नक्कली नोट छाप्ने गिरोहका नाईके पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २४, ०५:१० खबर संवाददाता

धनगढी : धनगढी सहित कैलालीका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने गिरोह चलाईरहेका नाईके पक्राउ परेका छन्। नक्कली नोट छाप्ने गिरोहका नाईके भनिएका महेन्द्रनगरका तेजवहादुर कार्कीलाई कञ्चनपुर प्रहरीको सहयोगमा महेन्द्रनगरबाटै कैलाली प्रहरीले पक्राउ गरेको हो।

सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेकोमा कार्कीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। सोही गिरोहका चार जनालाई पक्राउ गरिएपछि उनी फरार भएका थिए। गत साउनमा कैलाली प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित चार जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट प्रहरीले पक्राउ गरेको थियो। कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो। 

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको थियो। यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको थियो। 

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाईल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प पनि बरामद गरिएको थियो। पक्राउ परेकाहरु मध्ये अहिले तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने भट्ट धरौटीमा छुटेका छन्। उनीहरु विरद्ध खोटा मुद्रा उत्पादन र कारोवारमा मुद्धा चलाईएको छ।

कमेन्ट लोड गर्नुस