सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती र एसआर सिक्स जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्न प्रस्ताव

२०७६ मंसिर २३, १२:४६ जनक विष्ट

३६ वर्षदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजनाबाट चिनिया कम्पनी थ्री गर्जेजले हात झिकेपछि झनै अन्यौलमा परेको छ। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम पुगेर पश्चिम सेती जलविद्युत आयोजना नरोकिने आश्वासन दिएपनि सरकारले चासो नदिदा अन्यौलता बढेको छ। तर सरकारले झण्डै २७ वर्ष पहिले समान्य अध्ययन गरिएको साढे चार सय मेगावाटको पश्चिम सेती एसआर सिक्स आयोजनालाई पनि संयुक्त रुपमा निर्माण गर्न लगानीकर्ता जुटाउन पहल भईरहेको दावी गरेको छ।

पश्चिम सेती निर्माण गर्न लगानीकर्ता इच्छुक नदेखिएपछि करिब २७ वर्ष पहिले जाईकाले समान्य अध्ययन गरेको पश्चिम सेती एसआर सिक्स आयोजनासँगै निर्माण थाल्नेगरी लगानीकर्ता जुटाउन प्रयास भईरहेको लगानी बोर्डले जनाएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले  भने, ‘पश्चिम सेतीमा मात्र लगानी गर्न ठोस प्रस्ताव परेन।’ ‘दुवै योजना संयुक्त रुपमा अगाडी बढाउन दुईवटा कम्पनीको प्रस्ताव परेको छ, एउटाको स्वीकृत भएर प्रक्रियामा छ।’ दिनेश खबरलाई अधिकारीले बताए।

प्रस्ताव स्वीकृत भएको कम्पनीसंग निरन्तर छलफल जारी रहेको अधिकारीले जानकारी दिए। बोर्डका अनुसार दुवै आयोजनामा संयुक्त रुपमा लगानी गर्ने गरी अहिले कतार र जापानका छुट्टाछुट्टै कम्पनीले प्रस्ताव पेश गरेका हुन्। तर सहमती जुटी नसकेको कारण अन्य प्रक्रिया अगाडी बढेको छैन्। सात सय ५० मेगावाटको पश्चिम सेतीसँगै साढे चार सय मेगावाटको एसआर सिक्स आयोजना पनि अगाडी बढाउने विषयमा लगानीकर्ता इच्छुक देखिएपनि उत्पादन क्षमता कति कायम गर्ने भन्ने लगायतका केही विषय टुङ्गोमा पुग्न नसकेको बोर्डले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा भएको वित्तिय सम्मेलनमा सहभागी भएका पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती नरोकिने आश्वासन दिएका थिए। दाहालले सुदूरपश्चिमबासीको हित हुनेगरी पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न आफ्नो प्रयास जारी रहेको दावी गरेका बेला लगानीकर्ता जुटाउन भने ढिलाई भएको हो।

प्रदेशको समृद्धिसँगै जोडिएको पश्चिम सेती जलविद्युत आयोजनाको उत्पादन क्षमता घटाउने चर्चा समेत चलेको थियो। तर लगानी बोर्डले भने साविक कायम भएको क्षमतामै निर्माण गर्ने गरी लगानीकर्ता जुटाउन लागि परेको दावी गरेको हो। तर विस्तृत अध्ययन नै नभएको पश्चिम सेती एसआर सिक्स आयोजनासँगै सात सय ५० मेगावाटको पश्चिम सेती परियोजना अगाडी बढाउने तयारी भएपछि फेरी लगानीकर्ता जुटाउन मुस्कील पर्ने त होईन भन्ने आशंका व्यक्त भएका छन्। 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस