सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मसुरिया–तालबन्ध सडक, कालोपत्रे गरिएको एक महिनामै भत्कियो

२०७६ मंसिर २२, ११:५५ कमल सावद

कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत मसुरिया–तालबन्द–खनियाताल सडकका लागि गत वर्ष २४ लाख ५० हजार रकम विनियोजन भएको थियो। स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने सो कार्यक्रमको रकमबाट गौरीगंगा नगरपालिकाले झण्डै १९ लाखमा सम्झौता गर्दै पाँच सय मिटर सडक कालोपत्रे गरेको थियो।

तर सडक कालोपत्रे भएको एक महिनामै उप्कीन थालेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय मेलाराम टेर्राले सडक उप्कीन थालेको बताए। ‘सडक कालोपत्रे भएको एक महिना पनि भएको छैन्।’ उनले भने,‘धेरै ठाउँमा उप्कीएको छ।’ कालोपत्रे गर्दा कम गुणस्तरीय सामाग्री प्रयोग भएकाले सडक भत्किन थालेको स्थानीयको आरोप छ। आर्थिक वर्ष २०७४/०७५ मा मसुरिया बजारदेखि हेम ताडीको घर सम्मको एक किलोमिटर सडक कालोपत्रे गरेकोमा गत आर्थिक वर्षमा झण्डै पाँच सय मिटर सडक नगरपालिकाले कालोपत्रेका लागि निर्माण सम्झौता गरेको थियो।

एक महिना अगाडी मात्र कालोपत्रे निर्माण सकिएका हेम ताडीको घरदेखि पिपल चौतारा सम्मको कालोपत्रे सडक अहिले उप्कीएपछि आर्थिक हिनामिना भएको आरोप पनि लागेको छ। स्थानीय मेलाराम टेर्राले भने, ‘नगरपालिकाले जनताको आखाँमा छारो हाल्ने काम गरेको छ, ४३ फिट चौडाई रहेको सडकमा १२ फिट पनि कालोपत्रे गरिएको छैन्। धेरै ठाउँमा उप्किएको छ। गुणस्तर धेरै कमजोर छ। सडक दिर्घकालीन हुदैन्।’ उक्त सडक मसुरियालाई पहाडसंग जोड्ने महत्वपुण सडक हो। गत आर्थिक वर्ष २०७५/०७६ मा निर्माण सम्झौता भएको झण्डै पाँच सय मिटर सडकमा धेरै ठाउँमा अहिले कालोपत्रे उप्कीएको छ।

नगरपालिकाकै आर्थिक चलखेलका कारण कम गुणस्तरको सडक निर्माण हुदाँ उप्कीएको स्थानीयको आशंका छ। गौरीगंगा नगरपालिकाले भने मसुरिया–तालबन्द–खनियाताल सडक कालोपत्रेको सूचना लुकाएको छ। नगरपालिकाका सूचना अधिकारी दिनेश खड्काले कालोपत्रे सडकको बारेमा जानकारी नभएको बताए। नगरपालिकाका ईन्जिनियर समेत रहेका खड्काले कालोपत्रे गरिएको सडकको फायल समेत नपाएको प्रतिक्रिया दिए। नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भक्तराज जोशीले दिनेश खबरलाई उक्त विषयमा प्रतिक्रिया दिन नै अस्वीकार गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस