सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै ठाउँमा एक करोडको सुन्तला उत्पादन

२०७६ मंसिर २१, ०२:३६

तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष रु एक करोडभन्दा बढीको सुन्तला बिक्री  गरेका छन्। उक्त ठाउँका शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले रु एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन्। 

यस वर्ष शुकनारायणले रु ५० लाख, विश्वबहादुरले रु ४० लाख, निर्मलले रु १८ लाख र रामबहादुरले रु १२ लाखको सुन्तला बिक्री गरेका छन्। चालीस रोपनी क्षेत्रफलमा ८०० सुन्तलाको बोट रहेकामा ७०० सुन्तलाको बोटले उत्पादन दिएको स्गरेका थिए। अर्का किसान विश्वबहादुरले ६०० बोट र रामबहादुरले ३५० बोटबाट आम्दानी गरेका हुन्। कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष खानीगाउँमा राम्रो सुन्तला उत्पादन भएको बताए। ‘‘जिल्लाका केही ठाउँमा विभिन्न रोगका कारण सुन्तलाको बोट नष्ट हुने समस्या देखिए पनि म्याग्दे गाउँपालिकामा भने कुनै समस्या भएन’’, तिवारीले भने।

सुन्तला उत्पादक कृषक विश्वबहादुरले रोगका कारण मात्रै नभई व्यवस्थापन कमजोर हुँदा पनि सोचे जति उत्पादन हुन नसक्ने बताए। अधिकारीले सुन्तला व्यवस्थापनका लागि मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी लगानी गर्ने गरेको बताए। तनहुँमा कूल एक हजार ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भिमाद नगरपालिका–९ भानुमतीलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ। 

जिल्लामा गत वर्ष रु २७ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। यस वर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन हुने अनुमान छ। यहाँ उत्पादित सुन्तला पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको छ। रासस
 

कमेन्ट लोड गर्नुस