सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामान्यको चौमासिक खर्च ३२ प्रतिशत

२०७६ मंसिर १८, ०६:१६

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ३२.१९ प्रतिशत खर्च गरेको पाइएको छ। मन्त्रालयले आज चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या सामधान समितिको बैठकमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले चालुतर्फ ४०.३१ र पूँजीगततर्फ ३०.०६ प्रतिशत खर्च भएको बताए। मन्त्रालयले चौमासिकमा कूल रु सात अर्ब १७ करोड १२ लाखमध्ये रु दुई अर्ब ३० करोड ८४ लाख खर्च भएको छ। चालूतर्फ एक अर्ब ४९ करोड पाँच लाखमध्ये रु ६० करोड आठ लाखमात्र खर्च भएको छ। 

यस्तै पूँजीगततर्फ रु पाँच अर्ब ६८ करोड ६ लाखमध्ये रु एक अर्ब ७० करोड ७५ लाख खर्च भएको छ। चौमासिक समीक्षा बैठकमा मन्त्री हृदयेश त्रिपाठी तोकिएको समयमा नै काम सक्न निर्देशन दिए। उनले सरकारको नीति, योजनामा रहेर जुन शीर्षकलाई छुट्याइएको बजेट सोही शीर्षकमा खर्च गर्न आग्रहसमेत गरे। कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय लिएको लक्ष्य र उद्देश्य पूरा नगर्ने कर्मचारीलाई काम छाड्न आग्रह गरे। “जे लक्ष्य र उद्देश्य लिएर मन्त्रालय अगाडि बढेका काम पूरा गर्नुहोस्”, उहाँले भन्नुभयो, “यदि काम गर्न सक्नुहुन्न भने छाड्दिनुहोस्।” उनले कतिपय मन्त्रालयबीच समन्वय नहुँदासमेत काम गर्नमा समस्या भएको बताए।

राष्ट्रिय योजना आयोजका सदस्य मीनबहादुर शाहीले मन्त्रालयले लक्ष्यभन्दा कम नै खर्च गरेको बताए। “मन्त्रालयको चौमासिक प्रगति विवरण ७० प्रतिशतभन्दा बढी हुनुपर्दछ”, उनले भने। मन्त्रालयले प्रथम चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण गरेको छ। यसैगरी १०० वटा झोलुङ्गे पुलको विस्तुत प्रतिवेदन र १४४ वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रस्ताव आह्वान गरिएको जनाइएको छ। 

मन्त्रालयले १५ वटा झोलुङ्गे पुल निर्माण बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत स्वीकृत गरेको छ। यस्तै ६ वटा सडकपुल, १७५ किलोमिटर सडक स्तरोन्नति, १३३ किलोमिटर कालोपत्र, १० वटा खानेपानी आयोजना, १२ वटा सिँचाइ तथा बहुपयोगी योजनासमेत निर्माण गरेको छ। मन्त्रालयले सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोक कार्यविधि–२०७६ स्वीकृत गरेको छ। यसैगरी कर्मचारी समायोजनपश्चात् अख्तियार दुरूपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकसमेत गरेको छ। रासस

 

कमेन्ट लोड गर्नुस