सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत सहित दुई जनालाई पक्राउ गर्न अनुमती

२०७६ मंसिर १६, ०६:०५ खबर संवाददाता

कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत सहित दुई जनालाई पक्राउ गर्न प्रहरीले अनुमती पाएको छ। जिल्ला अदालत कैलालीबाट बस्नेत सहित अर्का सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न अनुमती प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रमाणपत्र किर्ते गरेको देखिएपछि  सञ्चालकलाई पक्राउ गर्न अनुमती प्राप्त भएको हो। टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेको थियो।

गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको थियो। आन्तरिक राजश्व कार्यालय कैलालीले छानविनपछि पक्राउका लागि प्रहरीसंग समन्वय गरेको बुझिएको छ।

अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत राजभोली साम्बाहाम्फेले हस्ताक्षर रहेका छन्।

तर उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको आरोप लाग्दै आएको छ। सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाईएको हो।

अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस