सुदूरपश्चिममा लाग्ने महोत्सवले कलाकार उत्पादनमा भूमिका खेल्न सकेन
सुदूरपश्चिममा आयोजना हुने मेला महोत्सवमा आयोजकको पहिलो रोजाईमा प्रदेश बाहिरका कलाकार पर्छन्। स्थानीय कलाकारले ठेट डेउडा गाउँदा दर्शकले थपडी बजाउदैनन् भन्ने मानसिकताका कारण प्रदेश बाहिरका कलाकार आयोजकको पहिलो रोजाइ बन्ने गरेका छन्।
महोत्सवको नारा भने स्थानीय स्तरको कला, संस्कृतीको सम्वद्र्धन भन्ने दिएको देखिन्छ। तर सुदूरपश्चिममा आयोजना हुने मेला महोत्सवले स्थानीय स्तरमा नयाँ कलाकार उत्पादन गर्ने र पुरानालाई स्थान दिनमा खासै भूमिका खेल्न नसकेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिमका अध्यक्ष पदम धामीले बताए।
प्रदेशका सबै जिल्लामा आयोजना हुने मेला महोत्सवले राष्ट्रिय कलाकारलाई बढी प्राथमिकता दिदा एकातीर स्थानीय कलाकार स्थान पाईरहेका छैनन्। अर्को तीर नयाँ कलाकारले स्टेज पाउन त मुस्कील नै हुने गरेको छ। विगतमा महोत्सवमा विभिन्न प्रतियोगिता समेत आयोजना हुने गरेकोमा अहिले उक्त परिपाटीलाई निरन्तरता दिईएको छैन्।
पछिल्लो केही वर्ष यता सुदूरपश्चिममा मात्र दशैं पछाडी उद्योग वाणिज्य संघ, विभिन्न संघ–संस्था, क्लब लगायतले मेला महोत्सव आयोजना गर्दै आएपनि स्थानीय स्तरमा कलाकार उत्पादनमा महत्वपुर्ण भुमिका खेल्न नसकेको गुनासो डेउडा गायक जनक कार्कीको छ।
धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवले मात्रै कलाकार र कला संस्कृतीको सम्वद्र्धनका लागि भन्दै वार्षिक २५ लाख बढि खर्च गर्दै आएको छ। तर त्यसमा आधा भन्दा बढि रकम राष्ट्रिय कलाकारमै खर्च गरिन्छ। मेला महोत्सवमा कला, संस्कृतीको सम्वद्र्धनका नारा राखिएपनि व्यापारीक मेलामा परिणत हुँदै गएका आरोप लाग्दै आएको छ।
तर उद्योग वाणिज्य महासंघ सुदूपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने नयाँ कलाकारको उत्थानका लागि महोत्सवले सहयोगी भूमिका खेलिरहेको दावी गरे। दशैं तिहार सकिए लगत्तै सुदूरपश्चिमका प्राय सबै जिल्लामा मेला–महोत्सव आयोजना हुने गरेका छन्।
तर राष्ट्रिय स्तरका कलाकारले मात्र ती मेला महोत्सवमा प्रथमिकता पाउन थालेपछि नयाँ कलाकार उत्पादनको भुमिका नगन्य अवस्थामा छ। डोटी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नरेन्द्र खड्काले पनि मेला महोत्सवले स्थानीय कलाकार उतपादनमा सहयोगी भुमिका खेलिरहेको दावी गरेका छन्।