कञ्चनपुर जघन्य अपराधको अखडा बन्दै, १६ महिनामा १८ जनाको हत्या
लागु औषधको जालो फैलिदै गएपछि पश्चिम तराईको जिल्ला कञ्चनपुर जघन्य अपराधको अखडा बन्दै गएको छ। पछिल्लो १६ महिनाको अवधीमा कञ्चनपुरमा एकपछि अर्को गरी १८ हत्याका घटना सार्वजनिक भएका छन्। गत बिहिवार मात्रै जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ३ चाँदनीका २२ वर्षीय दिपक पन्तको चक्कु प्रहार गरी हत्या गरिएको छ।
पन्तको हत्या भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट चार सय मिटरको दुरीमा छ भने वरपर बाक्लो मानव बस्ती छ। तैपनी दिनदहाडै ओभरटेक गरेको निहुँमा युवाहरुको समूहले उनीमाथि आक्रमण गरी हत्या नै गरिदियो। उक्त घटनाले कञ्चनपुरको सुरक्षा व्यवस्थाप्रती प्रश्न उब्जाएको छ।
महेन्द्रनगरका स्थानीय सुशिल शाहीले जिल्ला प्रहरी कार्यालय नजिकैमा भएको घटनाले प्रहरी निष्क्रीयता देखाएको बताए। उनले जिल्लामा जघन्य अपराध बढ्दै गएकाले न्युनीकरणका लागी प्रहरीले सक्रियता बढाउनुपर्नेमा जोड दिए। प्रहरीले पनि कञ्चनपुरमा हत्या हिसां लगायतका जघन्य अपराधका घटना बढ्दै गएको स्वीकार गरेको छ। तर अपराधिक गतिविधिमा संलग्न समूहमाथि निगरानी बढाउन सकेको छैन्।
गत आर्थीक वर्षमा छ सय मुद्धा परेकोमा १४ वटा हत्याका घटना रहेको प्रहरीले बताएको छ। चालु आर्थीक वर्षको हालसम्म चारवटा कर्तव्य ज्यान सम्बन्धीका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक दिनेश आर्चायले बताए। तर उनले अपराधिक गतिविधिको अखडा बन्दै गएको भन्नेमा कुनै सत्यता नभएको जिकिर गरे।
अपराधिक गतिविधिमा संग्लनमाथि निगरानी बढाईएको बताउदै आर्चायले कञ्चनपुरको सुरक्षा चुस्तदुरुस्त बनाईएको दावी गरे। हत्याहिसांका घटनामा प्रहरीले दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्दा दण्डहिनता बढेको छ।
प्रहरीको एउटा घटनाको अनुसन्धानमै रुमल्लीएको बेला अर्को अपराधिक घटना हुने गरेका छन्। तर बढ्दो अपराधिक गतिविधी नियन्त्रणमा प्रहरी मात्र नभएर अन्य सामाजिक अगुवा र सचेत नागरिकले पनि भूमिका खेल्नुपर्ने सुझाव दिईएको छ।