सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली बिजक बनाएर ८७ लाखको कर छली

। फोटो स्रोत ।
२०७६ मंसिर १३, ०३:१६ खबर संवाददाता

वस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि कर (भ्याट) को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ। यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ। 

झुटा बिजक बनाएर उनीहरुले झण्डै रु ८७ लाख बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको छ। मैनालीका अनुसार उनीहरुले कम्पनीमार्फत राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसुर गरेकाले मुद्दा चलाइएको हो। 

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईँले रु ५९ लाख र सोही जिल्लाको चौँरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै रु २८ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ। रासस 

कमेन्ट लोड गर्नुस