डडेल्धुरामा खानेपानी र कृषि कार्यालयमा अझै कर्मचारी अपुग
प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ। कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन्। जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा हाल नौ मात्रै छन्। डडेल्धुरा र बझाङ जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको सो कार्यालय प्रमुुख रविन श्रेष्ठले बताए।
कृषि ज्ञान केन्द्रमा पनि १७ कर्मचारीको दरबन्दी छ तर हाल पाँच अधिकृत रिक्त छ। अधिकृतस्तरका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए। डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा दरबन्दीअनुसारका अधिकृतस्तरका कर्मचारी नहुँदा सेवाग्राहीले समयमै सेवा पाउन सकेका छैनन्।
भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् भने दुई जिल्ला कार्यक्षेत्र भएकाले दरबन्दी अनुसारका कर्मचारी नभएको सो कार्यालयका प्रमुख खड्क शाहले बताए। भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र कार्यालयमा हाल १२ जनाको दरबन्दी छ, जसमा हाल नौ कर्मचारी मात्रै छन्। रासस