कैलालीमा विकास बजेट साढे ७ प्रतिशत मात्रै खर्च
कैलालीमा चालु आर्थिक वर्षमा पनि पूर्वाधार निर्माणका योजनाको कामले तिव्रता पाउन नसकेको पाईएको छ। पहिलो चौमासिकको बजेट खर्चको अवस्थालाई हेर्दा कैलालीमा विकास निर्माणका कामले गति नलिएको पाईएको हो।
जिल्लामा पहिलो चौमासिकमा ७ दशमलव ६४ प्रतिशत मात्र पुँजीगत अर्थात विकास तर्फको बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि १० अर्ब १८ करोड विकास बजेट रहेकोमा पहिलो चौमासिकमा ७ दशमल ६४ प्रतिशत अर्थात ७७ करोड बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मदनराज पाण्डेले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा कैलालीका ६ ठुला विकासे आयोजनामा सबैभन्दा कम शुन्य दशमलव २९ प्रतिशत खर्च संघीय खानेपानी आयोजनाको छ।
२६ करोड ४४ लाख विकास बजेट रहेकोमा आयोजनाको सात लाख ७६ हजार मात्र खर्च भएको छ। तर ढिलोगरी अख्तियारी आएका कारण विकास बजेट खर्च गर्न नसकिएको संघीय खानेपानी आयोजना धनगढीका प्रमुख जगन्नाथ दासले बताए। राष्ट्रिपति चुरे तराइ मधेश संरक्षण विकास समितिको काम पनि कछुवा गतीमा छ। नदी तटबन्धन, बृक्षारोपण लगायतका काम गर्न समितिले ढिलाई गरेपछि पुजीगत बजेट खर्चको प्रतिशत पनि न्युन रहेको हो।
चालु आर्थिक वर्षमा ५४ करोड विकास बजेट रहेकोमा समितिको पाँच करोड ५३ लाख मात्र खर्च भएको छ। कार्यालय व्यवस्थापनमा समय खर्च भएकाले विकास बजेट पनि खर्च गर्न नसकिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितका कैलालीका प्रमुख हरिवंश आर्चायले बताए। ‘कार्यालय ढिलो मात्र स्थापना भयो,’ आर्चायले भने, ‘भदौमा कार्यालय स्थापना भयो, अख्तियारी पनि ढिलो आयो। त्यसैले खर्चको प्रगति न्युन भएको हो।’ निर्वाचीत जनप्रतिनिधि आएपनि कैलालीको विकास बजेट खर्च प्रतिशतमा बृद्धि हुन नसकेको हो।
गत आर्थिक वर्षमा पनि सोही हाराहारीमा खर्चको प्रगति रहेकोमा चालु आर्थिक वर्षमा पनि बृद्धि भएको छैन्। पहिलो चौमासिक सकिदा पनि धेरै योजनाहरु कार्यान्वयन कुन तहहको सरकारले गर्ने भन्ने अन्यौलता रहेकाले छ। कैलालीका अन्य विकास आयोजनाहरुको पनि पुजीगत खर्चको अवस्था न्युन छ।
मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाको दुई दशमलव ३४ प्रतिशत, हुलाकी सडक योजनाको ७ दशमलव ११ प्रतिशत, रानीजमरा कुलरिया सिंचाई आयोजनाको १२ दशमलव ६४ प्रतिशत र संघीय आयोजना कार्यान्वयन ईकाइको १६ दशमलव ९३ प्रतिशत खर्चको प्रगति छ।