सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा उम्मेदवारमाथि आक्रमणः घटनाको निष्पक्ष छानबीन हुनुपर्ने कांग्रेसको माग

२०७६ मंसिर १२, ०५:४८ खबर संवाददाता

बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ।

नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनीय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

शक्तिको आडमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भएको सो घटनाको निष्पक्ष छानबीन गर्न पनि कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न रहेका धर्मेन्द्र कपाडी, परमानन्द भट्ट, मोहन कार्की,महानन्द जोशी र धिरज भट्ट माथि कारवाही गर्न पनि माग गरेको छ।

यस्तै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेको छ। शक्तिको आडमा कांग्रेसका उम्मेद्वारमाथि आक्रमण गरी उल्टै सामाजिक सञ्जाल मार्फत तरुण दलका अध्यक्ष घनश्याम भट्टको चरित्र हत्या गर्ने काम भएको भन्दै खेद प्रकट गरेको छ। तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरेको छ।

कमेन्ट लोड गर्नुस