काठमाडौँबाट आएका युवा लिपुलेकमा अनसन बस्न दार्चुला प्रस्थान
काठमाडौँबाट आएका तीनजना युवा लिपुलेकमा अनसन बस्न आज दार्चुला प्रस्थान गरेका छन्। आज बिहान काठमाडौँबाट प्रदेशको अस्थायी राजधानी अत्तरिया पुगेका केएन बस्याल सहितका तीन युवा दार्चुला प्रस्थान गरेका हुन्। बस्यालसँगै रमित बलामी र सेफर्ड लिम्बु पनि दार्चुलातर्फ लागेका छन्।
भारतले जारी गरेको नक्सामा समावेश गरिएका कालापानी, लिपुलेक र लिम्पिया धुरा फिर्ताका लागि दबाब दिन सीमामै पुगेर आमरण अनसन बस्न दार्चुला जान लागेको युवा केएन बस्यालले दिनेश खबरलाई बताए। उनले आफूले देशका लागि खाना, पानी नभनी विगत पाँच दिन देखि आमरण अनसन सुरु गरेको भएपनि दार्चुला पुगेर सीमामै सुरु गरिने बताए।
उनले कालापानी, लिपुलेक र लिम्पिया धुरा भारतले नक्साबाट हटाउनुपर्ने माग सहित आफू अनसन बस्न लागेको जानकारी दिए। आफ्नो अनसनमा काठमाडौँका दुईजना युवा सहित स्वतन्त्र राष्ट्रिय अभियान, हन्ड्रेड ग्रुप, मिसन नेपाल र परिवर्तनका लागि हाम्रो आवाज संस्थाले ऐक्यबद्धता जनाएको बताए। दार्चुलाबाट थप गरी १५ जनाको युवाको टोली अनसनका लागि लिपुलेक पुग्ने बस्यालले बताए।