सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु प्रकरण : स्थानीयद्वारा भीमदत्त राजमार्ग अवरुद्ध

फोटो :जीवन बोहोरा
फोटो :जीवन बोहोरा
२०७६ मंसिर ११, ०४:५८ खबर संवाददाता

डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। घटना अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त पन्त राजमार्गको गैरा बजारमा सडक अवरुद्ध पारेका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले स्थानीयले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारी साधन बिच सकडमै रोकिएको जानकारी दिए। स्थानीयले आज दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारेपनि माग पूरा नभए भोलीदेखि अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन्।

मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो।  डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो तर प्रहरीले थुनामा लिएको केही समयपछि उनको मृत्यु भएको थियो।

प्रहरीले भने शौचालयबाट फर्किने क्रममा लडेको र उपचारका लागि डडेल्धुरा लैजादै गर्दा मृत्यु भएको दावी गर्दै आएको छ। यसैबिच सामाजिक सुशासन युवा मञ्च  जोरायलले विज्ञप्ती जारी गर्दै घटनाको छानविनको माग गरेको छ।

मञ्चका अध्यक्ष प्रशासन्त ओली र सचिव केशवराज जोशीद्धारा जारी विज्ञप्तीमा घटनाको गम्भीर र सुक्ष्म ढंगले छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ।

 

कमेन्ट लोड गर्नुस