धनगढीमा फोहोर व्यवस्थापनमा चुनौती
सुदूरपश्चिमको राजधानी र मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा फोहोरमैला व्यवस्थापनामा चुनौती बढ्दै गएको छ। फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा टोलहरुबाट फोहोर उठाउन पनि महिनौ लाग्दै आएको छ। उप–महानगरपालिका वडा नम्वर १ को जयलक्ष्मी टोलमा विगत दुई महिनादेखि उपमहानगरपालिकाले फोहोर उठाउन नै आनाकानी गरेको छ।
फोहोर नउठाईएपछि अहिले टोलमा बस्नै नसकिने अवस्था आएको स्थानीय कल्पना नेपालीले बताईन्। तर टोलबासीबाट उपमहानगरपालिका क्षेत्रको फोहोर संकलन गर्ने जिम्मा पाएको संस्थाले यसअघि नै रकम असुलिसकेको आरोप स्थानीय लालबहादुर थापाको छ।
‘झण्डै दुई सय भन्दा बढी घरधुरी रहेको टोलमा प्रत्येक हप्ताको एकदिन फोहोर उठाउने भन्दै एक सय ५० रुपैयाँका दरले रकम संकलन गरेको दुई महिना भन्दा बढी भईसकेको छ,’ थापाले भने, ‘तर फोहोर नउठाउँदा अहिले जयलक्ष्मी टोलवासी आगनमै फोहोर फाल्न बाध्य भएका छन्।’
घर आगनमै हुने फोहरले विभिन्न रोगको संक्रमण फैलिने खतरा एकातिर देखिएको छ भने अर्को तर्फ वातावरण समेत प्रदुषण भईरहेको स्थानीय शिव नेपालीले बताए। यता धनगढी उप–महानगरपालिका भने फोहर व्यवस्थापनमा कमजोरी भईरहेको स्वीकार गर्दै साधन स्रोतको अभावको कारण देखाएको छ।
उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भने ‘अहिले हामी संग फोहर उठाउने तीन वटा मात्र ट्याक्टर छन्, प्रत्येक १५ दिनमा फोहर उठाईरहेको भएपनि सबै टोलमा पुग्न सकिएको छैन्।’
एसियाली विकास बैँकको ऋण सहयोगमा निर्माण हुने भनिएको फोहोरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक पर्ने जग्गा खोज्न असफल भएको धनगढी उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा चुनौती बढ्दै गएको छ। फोहोर व्यवस्थापन गर्न उपमहानरपालिका असफल भएपछि नगर क्षेत्र कुरुप बन्दै गएको छ।