सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा अतिक्रमणका विरुद्ध प्रदर्शन गर्न दार्चुला पुगेका ६ जना विद्यार्थी पक्राउ

२०७६ मंसिर १०, १२:४९ नरेन्द्र कार्की

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका ६ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको छ। भारतले कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध कार्यक्रम गर्न सदरमुकाम खलंगा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो। कार्यक्रम गर्नु अघि नै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरुमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ डडेल्धुराका २२ वर्षिय ललित सार्की, पर्शुराम नगरपालिका वडा नम्बर ५ डडेल्धुराकै २३ वर्षिय गणेश बोहरा, बुंगल गाउँपालिका वडा नम्बर ४ बझाङ्गका २९ वर्षिय तिलक कुवर, दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ का १९ वर्षिय धनसिंह धामी, खप्तड छन्ना गाउँपालिका वडा नम्बर ८ बझाङ्गका २५ वर्षिय शुभास जोशी र बुढीगंगा नगरपालिका वडा नम्बर १० बाजुरा २१ वर्षिय दिपक रावत रहेका छन्।

बिहान ९ बजे खुलामञ्चमा कार्यक्रम गर्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरीले महेन्द्र मावि खलंगाको गेट, बसपार्क र राती बसेको होटलबाट उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले रातो झण्डा आठ थान, भारतिय बिस्तारवाद मुर्दाबाद (आईलभ नेपाल), नरेन्द्र मोदी मुर्दाबाद, कालापानी हाम्रो हो, लेखेका प्रचारहरु फेला पारेको छ भने विभिन्न संघसस्था कार्यालयलाई सहयोग रकम माग्न प्रयोग गरिएको रसिदहरु समेत फेला परेको जोशीले बताए। 

जिल्लामा ठूलो संख्यामा विप्लव कार्यर्का भित्रिएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाइ निगरानीमा राखेको थियो। विप्लव निकटका विद्यार्थीहरु सोमबार राती दार्चुला पुगेका हुन्। सदरमुकाम खलंगाको एक होटलमा ११ जना विद्यार्थी बसेको स्रोतले जनाएको छ। प्रहरीले उनीहरु बसेको होटलमा पनि छापा हान्दै उनीहरुको सामान समेत बरामद गरेको छ। 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस