कैलालीका निर्माण व्यवसायीद्वारा मुख्यमन्त्री कार्यालय र प्रशासनमा धर्ना
म्याद थप, बैङ्क क्रेडिट लाइन लगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन निर्माण व्यवसायी संघ सुदूरपश्चिम प्रदेश र कैलालीले आज जिल्ला प्रशासन कार्यालय कैलाली र मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन्। बिहान पौने ९ बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।
निर्माण व्यवसायिको केन्द्रिय कार्यक्रम अनुसार आज कैलालीमा पनि धर्ना दिईएको हो। माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर धर्ना दिनुपरेको सङ्घले जनाएको छ।