बैशाख भित्रै मोहनापुल–अत्तरिया ६ लेन कालोपत्रे सडकमा गाडी गुडाउने लक्ष्य
कैलाली: बैशाख भित्रै कालोपत्रे गरी मोहनापुल–अत्तरिया ६ लेन सडकमा गाडी गुडाउने लक्ष्य राखिएको छ। ६ लेन सडकको पूर्ण रुपमा कालोपत्रे नसकिएपनि धनगढीदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटरमा गाडी गुड्नका लागि बैशाखभित्रै कालोपत्रे गरिने योजना कार्यालयले जनाएको हो।
६ लेन सडक अन्तरगत पहिलो प्याकेजमा कालोपत्रेको काम सुरु गरिएकोमा यसै साता भित्रै अन्य प्याकेजमा पनि कालोपत्रे सुरु गर्दै बैसाखमा गाडी गुड्न लायक बनाउने योजना रहेको कार्यालयका प्रमुख होमबहादुर एसीले बताए। दोस्रो र तेस्रो खण्डमा पनि राजेन्द्र निर्माण सेवाले कालोपत्रेका लागि तयारी थालेको उनले बताए।
मोहनापुल–अत्तरिया सडकको पूर्ण रुपमा निर्माण सम्पन्न हुन भने समय लाग्ने एसीले बताए। ‘तीन वटा पुलको निर्माण, जेब्राक्रसिङ, सर्भिस सडक लगायतको कामका लागि अलि समय लाग्ने छ’ उनले भने। मुख्य राजमार्ग भएपनि सहरी सडक समेत भएकोले आवातजावतमा सहज होस भन्नका लागि डेढ सय देखि दुई सय मिटरमा जेब्राक्रसिङ राखिने योजना प्रमुख एसीले बताए।
सडक २०७४ जेठ दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। निर्माण सुरु भए यता देखिएका विभिन्न अवरोध र निर्माण कम्पनीको निस्क्रियताले सडक निर्माण कार्यमा ढिलाइ भइरहेकोमा अहिले भने सडक निर्माणले तिव्रता पाएको छ।