कैलाली भन्सारद्धारा सवारी साधनको लिलामी गर्न ढिलाई, लाखौँ राजश्व गुम्दै
कैलालीमा चोरी पैठारीमा संग्लन सवारी साधन बरामद गरेको बर्षाै सम्म पनि लिलामी नगर्दा लाखौै राजश्व गुम्न थालेको छ। बरामद भएका सवारी साधन लिलामी गर्न भन्सार कार्यालय कैलालीले ढिलाई गरेपछि लाखौँ राजश्व गुम्न थालेको हो।
गत वर्षको पुषमा भन्सार कार्यालय र अन्य प्रहरी युनिटले बरामद गरेका सवारी साधनको लिलामी भएकोमा त्यसयता एक पटक पनि लिलामी हुन नसकेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए। चोरी पैठारीको अभियोगमा प्रहरीले नियन्त्रण गरेका एक सय ६० मोटरसाईकल र दुई वटा चार पाङ्ग्रे गाडी भन्सारमा राखिएको उनले बताए।
सबैभन्दा बढी भन्सार प्रक्रिया पुरा नगरेका भारतीय नम्बरका सवारी साधान र त्यसपछि भन्सार शुल्क नतिरी विभिन्न सामानहरु चोरी पैठारी गरिरहेको वेला नेपाली सवारी साधन पनि जफत गरिएको थियो। विभिन्न अभियोगमा नियन्त्रण गरिने सवारी साधनका लागि हकदावी गर्न १५ दिने सूचना प्रकाशित गर्ने परिपाटी छ।
त्यसपछि हकदावीको लागि निवेदन नपरे उक्त सवारी साधन लिलामीको प्रक्रियामा लैजाने गरिएको छ। लिलामीको प्रक्रियामा नै तीन महिना भन्दा बढी समय लाग्ने गरेको भएपनि त्यसको लागि थप समय लगाउने गरिएको छ। यस वर्ष मेकानिकल प्राविधिक अभाव भएको भन्दै भन्सार कार्यालय पन्छिने प्रयासमा छ।
कैलाली भन्सरा कार्यालयले गत वर्ष लिलामी गर्दा सावारी साधन बाट एक करोड ५० लाख भन्दा बढी राजश्य संकलन गरेको थियो। सवारी साधनको मोडेल, ईन्जिन नम्बर लगायतको अधारमा प्राविधिकले न्युनतम मुल्य निर्धारण गर्ने गर्छ। तर लिलामी प्रक्रियामा जान ढिलाई भएपछि सवारी साधनको मोडेल र ईन्जिन नम्बर पुरानो हुने गरेका कारण मुल्य कम पर्ने हँुदा लाखौँ राजश्व समेत गुम्ने गरेको छ।
तर कैलाली भन्सार कार्यालयका अनुसार सवारी साधन लिलामी प्रक्रियामा लैजान अझै समय लाग्ने देखिएको छ।