डोटीमा प्रहरी हिरासतमै चालकको शंकास्पद मृत्यु
डोटीमा प्रहरी हिरासतमै चालकको रहस्यमय मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको हो।
डडेल्धुराको गाङ्खेत जाने रोडमा बिचमा गाडी रोकेपछि प्रहरीले आज दिउँसो थुनामा लिएको बुझिएको छ। थुनामा लिएको केही घण्टामै उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले भने नियन्त्रणमा लिएका पाली शौचालयबाट फर्किने क्रममा लडेको र उपचारका लागि डडेल्धुरा लैजादै गर्दा मृत्यु भएको दावी गरे।
उनले पालीले मदिरा समेत सेवन गरेको पाईएको दिनेश खबरलाई बताए। पाली डोटीको गैराका उधव सिह सेठीको से १ज२९२ नम्बरको जीपका चालक हुन्। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।