सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फर्जी कलेज चलाएर आधा करोड ठग्ने सञ्चालक अझै फरार

२०७६ मंसिर ८, ०१:१० खबर संवाददाता

धनगढीमा बर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक अझै पक्राउ परेका छैनन्। फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक कैलाली उदासीपुरका राजाराम चौधरी अझै पक्राउ नपरेका हुन्।

उनका विरुद्ध विद्यार्थीहरुले ठगी मुद्धा दर्ता गरेको तीन महिना पुग्नै लाग्दा समेत उनलाई प्रहरीले पक्राउ गर्न नसकेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनी विरुद्ध मुद्धा दर्ता भएपनि फरार रहेको बताए। उनको खोजी कार्य भने जारी रहेको उनले जानकारी दिए।

उक्त कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको थियो। प्राविधिक विषय पढाउने कलेज भन्दै गत बर्ष १७ जना विद्यार्थी भर्ना भएका थिए।

कृषि जेटिए र भेटनरी अध्यापन हुने भन्दै उनीहरुबाट एक लाखका दरले १७ लाख रकम संकलन गरिएको थियो। यसै भदौमा नयाँ भर्ना भएका थप ३७ जनाबाट ६५ हजारका दरले १९ लाख संकलन गरिएको थियो भने १० लाख रकम संकलन गर्ने तयारीमा सञ्चालक चौधरी थिए।

विद्यार्थीहरुले अन्य कलेजमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा सञ्चालन भएपनि उक्त कलेजले परिक्षा सञ्चालन नगरेपछि फर्जी कलेज भएको थाह पाएका थिए। 

कलेजका विद्यार्थी प्रकास साउँदले पटक–पटक सिटिइभिटी र जिल्ला प्रहरी कार्यालय धाउँदा समेत कुनै सुनवाई नभएको गुनासो गरे। उनले विगतमा विभिन्न सरकारी निकायको संरक्षणमा चौधरीले कलेज सञ्चालन गरेको समेत आशंका व्यक्त गरे। 

कलेजकी विद्यार्थी धनगढी शान्तिनगरकी सुलोचना कार्कीले पनि परिक्षा नै सञ्चालन नगरी सञ्चालक फरार भएपछि आफुहरुको भविष्य अन्यौलमा परेको गुनासो गरिन्। यता प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद सुदूरपश्चिम प्रदेश कार्यालयले पनि विद्यार्थीहरुको भविष्य अन्यौलतमा परेपनि फर्जी कलेज सञ्चालकलाई कारवाहीको दायरामा भने ल्याउन सकेको थिएन्।

कैलाली उदासीपुरका चौधरीले सिटिइभिटीको सम्बन्धन लिएको भन्दै २०७२ सालदेखि नै उक्त कलेज चलाएर ठगि गर्दै आएका थिए। अहिले विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका छन् भने उनी विरुद्ध उजुरी समेत दिएका छन्।

यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ पनि परेका थिए। तर धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।

कमेन्ट लोड गर्नुस