सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा १० जना मलेरियाका बिरामी भेटिए

२०७६ मंसिर ८, १२:५२ खबर संवाददाता

डडेल्धुराको पर्शुराम नगरपालिकाका दुई वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेको साँदनी स्वास्थ्य चौकीले जनाएको हो।

नगरपालिको ६ र ७ बाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन आएका व्यक्तिको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाईजर हरिप्रसाद भट्टले बताए। दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगका बिरामीले निःशुल्क औषधि सेवन गरिरहेका छन् भने त्यसमध्ये २ जनालाई ठिक भइ सकेको भेक्टरकन्टोलर सुपरभाईजर भट्टले बताए।

पाँच दिनदेखि स्वास्थ्यकर्मीको टोली संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा नियन्त्रणका लागि औषधि समेत छर्किरहेको स्वासस्थ्य संस्थाले जनाएको छ। साथै औलो प्रभावित वडा पर्शुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनासक औषधि छर्किने काम गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

भित्रि मदेशको परशुराम र आलितालका केही क्षेत्र मलेरिया र औलोको लागि जोखिम मानिन्छ। गर्मी क्षेत्र भएका कारण भित्रि मदेशमा मलेरिया रोगको संक्रमित हुनसक्ने स्वास्थ्य कर्मी प्रेम ऐरले बताए।
 

कमेन्ट लोड गर्नुस