जनस्तरबाटै लिपुलेकको मुद्दा अन्तराष्ट्रियकरण गर्नुपर्छः राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले नेपाल र भारतको सीमाना विवादको विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने जनाएको छ। धनगढीमा आज भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समावेश गरेको विरोधमा आयोजना गरिने कार्यक्रम सार्वजनिक गर्दै जनमोर्चाले सीमा विवादको विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग गरेको हो।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका अध्यक्ष नन्दराज भट्टले नागरिकले अन्तराष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न नपाएपनि जनस्तरबाटै अन्तराष्ट्रियकरण गर्न सकिने बताए। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले नेपाल र भारतको सीमाना विवाद अहिले नै अन्तराष्ट्रियकरण गर्न नहुने अभिव्यक्ति दिनुले शंका उत्पन्न भएको उनले बताए।
नेपालको राजनीतिमा सत्तामा भएका नेताहरु भारतको विरोधमा जान नसक्ने उनको भनाई थियो। तर नेपाली भूमीको रक्ष ागर्न जनस्तरबाट मुद्दा अन्तराष्ट्रियकरण गरिनुपर्ने भट्टको जोड छ। उक्त मुद्दा अन्तिराष्ट्रियकरण भए मात्र नेपाली भूमी फिर्ता गर्न सकिने दावी पनि गरिएको छ।
नेपाली जनताले पटक–पटक भारतीय पक्षको सीमा अतिक्रमणको विरोध गर्दै आएपनि कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्न नसकिएको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले एक साताको विरोध कायक्रम पनि सार्वजनिक गरेको छ।
बुधबारदेखि धनगढीबाट सुरु हुने विरोधका कार्यक्रम अत्तरिया, डोटीको बुडर र दिपायल, डडेल्धुराको बसपार्क, बैतडीको पाटन, दार्चुलाको खलंगा र गोकुलेश्वर तथा मंसिर १७ गते मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा साता व्यापी विरोध कार्यक्रम गरिने राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले जनाएको छ।
अभियान अन्तरगत कालापानी, लिपुलेक र लिम्पीयाधुरा हाम्रो हो, भारतीय साम्राज्यवादी सेना फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर भन्दै मोटरसाईकल ¥याली र कोणसभा लगायतका कार्यक्रम गरिने भएका छन्।