कैलालीमा निजी वनतर्फ आकर्षण बढ्दै
कैलाली: कैलालीमा काठजन्य बस्तुको उत्पादन गरी आवश्यकता पूर्ती हुने भएपछि निजी वनतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। सामुदायिक तथा साझेदारी वनको तुलनामा पछिल्लो समय निजी वन दर्ता हुनेक्रम वृद्धि भएको हो।
निजि वनक्षेत्र विस्तार हुनेक्रम वृद्धि भएपछि राज्यमाथिको परनिर्भरता घट्दै जाने विश्वास गरिएको छ । भने, राजश्व संकलनमा पनि बढोत्तरी हुने अपेक्षा गरिँदै आएको छ। जिल्लामा अहिले ७२ भन्दा बढि निजी वन दर्ता भईसकेका छन्।
केही वनले त काठ निर्यातको समेत तयारी गरेको दावी गर्दै आएका छन्। हालै मात्रै निजी वन संरक्षण गर्नेक्रम सुरु भएका कारण काठजन्य पदार्थ उत्पादन हुन नसकेकाले त्यसतर्फ किसानहरुको आकर्षण बढी देखिएको पारिवारिक निजी वनको प्रदेश संगठनका सचिव अनुपा चौधरीले बताईन्। एकजना व्यक्तिको स्वमित्व रहने निजी वनको संरक्षण सामुदायिक तथा साझेदारी वनको तुलनामा राम्रो भएको बताइन्छ।
कैलालीको कुल भु–भाग ३ लाख २८ हजार पाँच सय ५२ हेक्टर मध्ये दुई लाख पाँच हजार ९ सय ३९ हेक्टर वन क्षेत्रले ओगटेको छ। सामुदायिक तथा साझेदारी वन जस्तै निजी वनलाई पनि डिभिजन वन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधाने छ। निजी वनतर्फ किसानहरुको आकर्षण बढेको भएपनि हालै अम्दानी भने हुन नसकेको डिभिजन वन कार्यालय पहलमानपुरका साहयक वन अधिकृत सुरेन्द्र कठायतले बताए।
अहिले कैलालीबाट सामुदायिक तथा साझेदारी वनबाट काठजन्य पदार्थ जिल्ला बाहिर समेत निर्यात भईरहेको छ। सबैभन्दा बढी आम्दानीको श्रोत मानिएको निजी वन पाल्न हालै सुरुवात गरेका कारण अबको केही वर्षपछि मात्र आम्दानी देखिने जनाइएको छ।
निजी वन संरक्षण गर्नेहरुको संख्यामा वृद्धि भएसंगै मानव बस्तीलाई समेत वातावरणीय फाईदा लिन सजिलो भएको डिभिजन बन कार्यालय धनगढीका निमित्त प्रमुख सचिदानन्द सिंहले बताए। त्यस्तै काठजन्य पदार्थ पनि सहजै उपलब्ध हुने उनको विश्वास छ।