कैलाली भन्सारबाट झण्डै साढे छ अर्बको आयात हुँदा निर्यात २१ करोड मात्र
कैलाली भन्सारबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा झण्डै साढे छ अर्बको सामान आयात हुँदा निर्यात भने न्यून देखिएको छ। त्रिनगर नाकाबाट आर्थिक वर्षको पहिलो चौमासिकमा छ अर्ब ६५ करोडको सामान आयात हुँदा २१ करोड बराबरको मात्रै निर्यात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।
कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत ईश्वरीदत्त अर्यालले गत वर्षको तुलनामा आयात केही घटेको देखिएपनि निर्यात पनि बृद्धि हुन नसकेको पाईएको बताए। अर्यालले चालु वर्षको साउनदेखि कात्र्तिक मसान्त सम्म छ अर्ब ३८ करोड बराबरको सामान आयात भएको दिनेश खबरलाई जानकारी दिए। गत वर्ष भने पहिलो चौमासिकमा छ अर्ब ६५ करोड बराबरको सामान आयात भएको थियो।
यस्तै आयात घटेका बेला निर्यातको दर उकालो लाग्नुको सट्टा घटेको छ। गत वर्ष पहिलो चौमासिकमा कैलाली भन्सारबाट २६ करोड बराबरको सामान निर्यात भएकोमा चालु वर्षमा भने २१ करोडको सामान मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए। यस्तै भन्सार कार्यालयले पहिलो चौमासिकमा एक अर्ब ६० करोड राजस्व संकलन गरिएको जनाएको छ।