डडेल्धुराको परशुराममा मलेरियाका बिरामी फेला
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा मलेरियाका बिरामी फेला परेका छन्। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका २ वडामा मलेरिया अर्थात औलोका रोगका बिरामी भेटिएका हुन्। नगरपालिको वडा नम्बर ६ र ७ बाट बिरामी भएर जचाँउन आएका व्यक्तिहरुको रगत परिक्षण गर्दा मलेरियाको संक्रमण देखिएकोे साँदनी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिए।
२ हप्ता अगाडि साँदनी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरुमा मलेरियाका लक्षण देखा परेका उनको भनाइ छ। दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म १० जना बिरामीहरु संक्रमित भइ निःशुल्क औषधि सेवन गरिसकेका छन्। मलेरिया रोगको प्रकोप फैलिँदै गएकाले सो बारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकी प्रमुख धामीले जानकारी दिए।
पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा खोजी (सर्च) गरिरहेको छ। सर्चका साथसाथै जनचेतनाका कार्यक्रम संचालन गरिरहेको धामीले बताए।
औलो प्रभावित वडाहरुमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय, डडेल्धुराले जानकारी दियो।